सुनकोशी समाचार
सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाको आयोजनामा सञ्चालित अन्तरविद्यालय चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयका छात्र तथा छात्राहरूको उत्साहजनक सहभागितामा सम्पन्न प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिभा र कलाप्रतिको रुचिलाई उजागर गरेको छ।
प्रतियोगितामा छात्रतर्फ श्री भुमेश्वरी माध्यमिक विद्यालय, सुनखानीका सुप्रिम बिक प्रथम भएका छन्। त्यस्तै सदाबहार एकेडेमी, खाडीचौरका विमर्श भुजेल द्वितीय तथा श्री महेन्द्रोदय माध्यमिक विद्यालय, थुम्पाखरका अनोज तामाङ तृतीय भएका छन्।
त्यसैगरी छात्रातर्फ श्री महेन्द्रोदय माध्यमिक विद्यालय, पाटीडाँडा, थुम्पाखरकी युनिका लामा प्रथम भएकी छन्। सदाबहार एकेडेमी, खाडीचौरकी रियानिस नेपाल द्वितीय तथा श्री जाल्पा माध्यमिक विद्यालय, कोठेकी निस्ता कार्की तृतीय भएकी छन्।
गाउँपालिकाका शिक्षा अधिकृत निमबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरी प्रमुख अतिथि तथा वडा अध्यक्ष ईश्वर तिमल्सिना विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा अतिथिहरूले प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै बधाई ज्ञापन गरेका थिए। उनीहरूले विद्यार्थीभित्र लुकेको प्रतिभा पहिचान गरी त्यसलाई प्रोत्साहन गर्न यस्ता सिर्जनात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
विद्यालय तहदेखि नै कला, सिर्जना र प्रतिभाको विकासका लागि प्रतियोगितात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो।
सुनकोशी गाउँपालिकाले शिक्षा क्षेत्रमा अतिरिक्त क्रियाकलाप तथा सिर्जनात्मक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाउँदै आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन र क्षमता विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारलाई धन्यवाद दिँदै आयोजकले विजयी विद्यार्थीहरूको आगामी शैक्षिक तथा सिर्जनात्मक यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ।
