Breaking
Thu. Oct 22nd, 2026

सुनकोशीमा पालिकास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, जाल्पा मा विको बिनु प्रथम

सुनकोशी समाचार

सिन्धुपाल्चोक। अनेरास्ववियु सुनकोशी गाउँपालिका कमिटीद्वारा आयोजित पालिकास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। असोज २३ गते शुक्रबार सुनकोशी गाउँपालिका–७ स्थित सेतीदेवी शारदा माध्यमिक विद्यालयमा बिहान ७ बजेदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा
सुनकोशी गाउँपालिका–७ को जाल्पा माध्यमिक विद्यालय,
सुनकोशी–६ पाटीडाँडास्थित महेन्द्रोदय माध्यमिक विद्यालय, सुनकोशी–२ ठोकर्पास्थित बाघभैरव माध्यमिक विद्यालय, सुनकोशी–७ सेतीदेवी शारदा माध्यमिक विद्यालय र सुनकोशी–६ कोल्दुङदेबि माध्यमिक विद्यालयलगायतका विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए।

प्रतियोगितामा जाल्पा माध्यमिक विद्यालय, सुनकोशी–७ की बिनु तिमल्सिना प्रथम भएकी छन्। त्यसैगरी, महेन्द्रोदय माध्यमिक विद्यालय, पाटीडाँडाकी रविना दुलाल द्वितीय, कोल्दुङ माध्यमिक विद्यालयकी सदिक्षा भण्डारी तृतीय र महेन्द्रोदय माध्यमिक विद्यालयका मिनेश कार्की चौथो भएका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो। चौथो स्थान हासिल गर्ने विद्यार्थीलाई नगद १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियु सुनकोशी गाउँपालिका कमिटीका अध्यक्ष सुनिल थापाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा ने क पा एमाले सिन्धुपाल्चोकका विद्यार्थी फाँट इन्चार्ज चरीबहादुर तामाङ सहभागी थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास, तार्किक क्षमता र नेतृत्व विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले विद्यार्थीहरूले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा सुनकोशी गाँउपालिका सिविस संस्थाको प्रतिनिधि गोपिनी पौडेल , अनेरास्ववियु जिल्ला कमिटीका कोषाध्यक्ष अमिर राजबल श्रेष्ठ तथा सुनकोशी गाउँपालिका शिक्षा समिति सदस्य कृष्ण सुवेदीलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णय मण्डलमा सुनकोशी गाउँपालिका शिक्षा समिति सदस्य कृष्ण सुवेदी र,सिविस संस्थाको प्रतिनिधि गोपिनी पौडेल रहेका थिए। प्रतियोगिताको नतिजा निर्णायक मण्डलले गरेको मूल्याङ्कनका आधारमा सार्वजनिक गरिएको थियो।

विद्यार्थीहरूको वाककला, तार्किक क्षमता, आत्मविश्वास र नेतृत्व विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस्ता प्रतियोगिताले विद्यार्थीमा सिर्जनात्मक सोचको विकास गर्नुका साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *