सुनकोशी समाचार
सिन्धुपाल्चोक, असोज २९। सवारी साधनमा हुने यान्त्रिक खराबीका कारण हुन सक्ने दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सिन्धुपाल्चोक ट्राफिक प्रहरीले जिल्लामा सवारी साधनको यान्त्रिक परीक्षण तथा नियमित चेकजाँचलाई तीव्रता दिएको छ।
असोज २९ गते ट्राफिक प्रहरीले सवारी
साधनका ब्रेक, टायर, स्टेरिङ, बत्ती, इन्जिनलगायत महत्त्वपूर्ण भागहरूको परीक्षण गरेको छ। परीक्षणका क्रममा निर्धारित मापदण्ड पूरा नगरेका सवारी साधनका चालकलाई आवश्यक सुधार गर्न सम्झाउँदै सवारी साधनको अवस्था दुरुस्त राख्न आग्रह गरिएको छ।
ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा माइकिङमार्फत जनचेतनामूलक सन्देश प्रवाह गर्दै नियमित चेकजाँचसमेत बढाएको जनाएको छ।
ट्राफिक प्रहरी प्रमुख रामकुमार थापाका अनुसार यान्त्रिक अवस्था राम्रो भएको सवारी साधनले मात्र सुरक्षित यात्रामा महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले सवारी चालकले आफ्नो सवारी साधनको नियमित मर्मत तथा परीक्षण गरी सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो।
“सवारी साधनको नियमित मर्मत तथा परीक्षण गरौँ, दुर्घटना न्यूनीकरणमा साथ दिऔँ” भन्ने नारासहित ट्राफिक प्रहरीले सुरक्षित यात्राका लागि चालक तथा सर्वसाधारणलाई सचेत गराइरहेको छ।