सुनकोशी समाचार
सुनकोशी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका चार वडामा वडा अधिवेशन सम्पन्न भएको छ। असोज १५ गते सम्पन्न अधिवेशनबाट वडा नं. २, ५, ६ र ७ मा वडा इकाइ सभापतिसहित क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएका छन्।
निर्विरोध निर्वाचित हुने वडा सभापतिहरूमा सुनकोशी गाउँपालिका–२ बाट दिलबहादुर खत्री, वडा नं. ५ बाट तेजबहादुर खत्री, वडा नं. ६ बाट रविन्द्र भण्डारी र वडा नं. ७ बाट राजकुमार कार्की रहेका छन्।
अधिवेशनबाट निर्विरोध निर्वाचित सम्पूर्ण वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउन उनीहरूको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
वडा अधिवेशन सफल बनाउन अहोरात्र खटेर सहयोग गरेको भन्दै नेपाली कांग्रेस सुनकोशीका नेता, समाजसेवी तथा कांग्रेस महासमिति सदस्य रामकुमार थापाप्रति पनि आयोजक पक्षले आभार व्यक्त गरेको छ।
नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति सुनकोशी गाउँपालिकाका संयोजक **कुमार बस्नेत (अधिराज)**ले अधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिँदै लोकतान्त्रिक मूल्य, विधि र संगठनको सुदृढीकरणमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
सुनकोशी गाउँपालिकाका बाँकी वडाहरूमा पनि वडा अधिवेशनको प्रक्रिया आगामी भोलि र पर्सिमा सम्पन्न हुने तयारी रहेको समितिले जनाएको छ।
नेपाली कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि क्रमशः गाउँ/नगर, क्षेत्रीय, जिल्ला र प्रदेश तहका अधिवेशन हुँदै केन्द्रीय महाधिवेशनतर्फ प्रक्रिया अघि बढाइएको छ।
