सुनकोशी समाचार
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (जनजाति महिला) पदमा कान्छी लामाले उम्मेदवारी घोषणा गरेकी छन्।
सुनकोशी गाउँपालिकाकी उपाध्यक्षसमेत रहेकी लामाले पार्टीको महाधिवेशनमा जनजाति महिला तर्फबाट आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै क्षेत्रीय प्रतिनिधिहरूसँग साथ, सहयोग, विश्वास र अमूल्य मतका लागि अपिल गरेकी हुन्।
लामाले आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्दै क्षेत्रीय प्रतिनिधिहरूको माया, सद्भाव, साथ र विश्वासले आफूलाई थप जिम्मेवारीका साथ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।
उनले कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन तथा पार्टीको नीति, विचार र सिद्धान्तलाई आत्मसात् गर्दै आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।
लामा सुनकोशी गाउँपालिकाको उपाध्यक्षका रूपमा स्थानीय तहमा समेत राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएकी छन्। उनको उम्मेदवारीसँगै सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि निर्वाचनको राजनीतिक सरगर्मी थप बढेको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा कान्छी लामाले दिइन् केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
