Breaking
Sun. Sep 13th, 2026

हिराहरी तेक्वान्दो डोजाङमा जुनियर बेल्ट प्रमोसन टेस्ट सम्पन्न

सुनकोशी समाचार
सिन्धुपाल्चोक । हिराहरी तेक्वान्दो डोजाङ चौतारामा आयोजित जुनियर बेल्ट प्रमोसन टेस्टमा सुहानी श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै डबल प्रमोसन हासिल गरेकी छन्।
नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रमअन्तर्गत आयोजित Junior Belt Promotion Test मा निलो पेटीतर्फ सहभागी सुहानीलाई डबल प्रमोसन प्रदान गरिएको हो। ग्रेडिङमा सहभागी अन्य खेलाडीहरू पनि निर्धारित मापदण्ड पूरा गर्दै उत्तीर्ण भएका छन्।
ग्रेडिङ कार्यक्रममा सिनियर खेलाडीहरू मेनुका श्रेष्ठ, सचिन तामाङ, सलिना चुहान, रेहान श्रेष्ठ, मिशन बागदास, निभा श्रेष्ठ, विजय श्रेष्ठ, सुनिधी कक्षपति, कृजन दंगाल र उमेश तामाङसहित अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सिनियर खेलाडीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
ग्रेडिङ तथा मूल्यांकन नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका उपाध्यक्ष, कालो पेटी छैटौं डान तथा हिराहरी तेक्वान्दो डोजाङका संस्थापक एवं प्रमुख रमेश गुरुङले गरेका थिए।
ग्रेडिङपछि गुरुङले तेक्वान्दो खेल किक र पञ्चमा मात्र सीमित नरहेको बताउँदै यो सम्मान, अनुशासन, निरन्तर लगनशीलता र आत्मनियन्त्रण सिकाउने खेल भएको उल्लेख गरे।
उनले खेलाडीहरूलाई तेक्वान्दोबाट प्राप्त सीप तथा क्षमताको कुनै पनि अवस्थामा दुरुपयोग नगर्न निर्देशन दिँदै खेलको माध्यमबाट अनुशासन, सकारात्मक सोच र असल चरित्र निर्माण गर्न आग्रह गरे।
डबल प्रमोसन हासिल गरेकी सुहानी श्रेष्ठसहित ग्रेडिङमा सफल सम्पूर्ण खेलाडीलाई बधाई दिँदै गुरुङले आगामी दिनमा अझ मेहनत, अनुशासन र निरन्तर अभ्यासलाई प्राथमिकता दिन सुझाव दिए।
जुनियर तहदेखि नै खेलाडीहरूको प्रतिभा पहिचान गरी प्रोत्साहन गर्ने यस्ता ग्रेडिङ कार्यक्रमले सिन्धुपाल्चोकमा तेक्वान्दो खेलको विकाससँगै अनुशासित र दक्ष खेलाडी उत्पादनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *