Breaking
Mon. Nov 10th, 2025

बाह्रबिसे नगरको १७औं नगरसभा सम्पन्न: शिक्षा, विपद् न्यूनीकरण र समावेशी विकासमा प्राथमिकता

सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
बाह्रबिसे , असार ९। बाह्रबिसे नगरपालिकाको १७औं नगरसभा शनिबार सम्पन्न भएको छ। नगरसभा निःशुल्क शिक्षा, विपद् न्यूनीकरण, समावेशी विकास र स्थानीय स्वरोजगारका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै सम्पन्न भएको हो।

नगरसभाको उद्घाटन पूर्व स्वस्थ तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले गर्नुभयो। उहाँले सम्बोधन गर्दै भन्नु भयो, “स्थानीय तहको सशक्तिकरणले मात्र समावेशी र समान विकास सम्भव छ। बाह्रबिसे नगरपालिकाले शिक्षा, विपद् न्यूनीकरण, स्वरोजगार जस्ता जनहितका विषयलाई प्राथमिकतामा राख्नु सकारात्मक संकेत हो।जनताको पक्षमा नगरले सँधै काम गर्न सुजाव दीदै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भयो।

कार्यक्रममा विशेष अतिथि सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठले भन्नुभयो, स्थानीय सरकारको भूमिका दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ। योजनाहरू अब कार्यान्वयनमा कसरी प्रभावकारी बनाउने भन्नेमा हामी सबै गम्भीर हुन जरुरी छ भन्दै नगर सभाको सफलताको शुभकामना ब्यक्त गर्नु भयो।

नगरसभामा नगर उपप्रमुख मञ्जु तामाङले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६० करोड ३३ लाख ८४ हजार ४८३ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो। उक्त बजेटमा निःशुल्क शिक्षाका लागि मात्र ४ करोड रुपैयाँ विनियोजन गरिएको छ। कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा र कक्षा १२ सम्म निःशुल्क शिक्षा निरन्तरता दिने निर्णय बजेटमा समावेश गरिएको छ। साथै सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन मोंटेसोरी शिक्षा प्रणालीलाई समेत निरन्तरता दिइने भएको छ।

मनसुनजन्य विपद् न्यूनीकरणका लागि नगरपालिकाले विशेष योजना अघि सारेको छ। विपद् व्यवस्थापन, उद्धार तथा पुनःस्थापनाका लागि करिब ४ करोड २७ लाख रुपैयाँ छुट्याइएको छ। विगतका वर्षहरूमा घरबास गुमाएका १४४ मध्ये ६४ घर पुनर्निर्माण भइसकेका छन् भने ४९ घरधुरीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ।

स्वास्थ्य क्षेत्रमा १ करोड, कृषि र पशुपालन क्षेत्रमा ५०-५० लाख रुपैयाँ, तथा प्रत्येक वडा (९ वटा) लाई ५०-५० लाख विनियोजन गरिएको छ। खानेपानी, पशु बीमा, लघु उद्यम र ‘एक वडा, एक पकेट क्षेत्र’ कार्यक्रममार्फत कृषि र पशुपालनमा उत्पादकता अभिवृद्धिको योजना बजेटमा समेटिएको छ।

नगरप्रमुख बालकृष्ण बस्नेतले नगरपालिकाले शिक्षा, स्वास्थ्य, स्वरोजगार, कृषि, पर्यटन र दलित समुदायको सशक्तीकरणमा दिगो विकासको अवधारणा अनुसार योजना अघि बढाएको जानकारी दिनुभयो। उहाँले थप्नुभयो, “स्वरोजगार, उद्यमशीलता र समावेशी सेवामार्फत नगरवासीको जीवनस्तर सुधार गर्ने हाम्रो मुख्य लक्ष्य हो।सँधै जनताको पक्षमा काम गर्ने बताउनु भयो।
नगरसभामा वडाअध्यक्षहरू, गाउँसभा सदस्यहरू, संघसंस्थाका प्रतिनिधि र सुरक्षाकर्मी ,पत्रकार र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *