कुमार बस्नेत (अधिराज )
लामोसाँघु, असार ७ –सिन्धुपाल्चोक जिल्लाको लामोसाँघुस्थित बसन्तपुर खेल मैदानमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले रोमाञ्चक जित हात पारेको छ। ३१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा उद्योग वाणिज्य संघले सिन्धु सुकुटे पर्यटन व्यवसायी संघलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
प्रतियोगिता उद्योग वाणिज्य संघ र पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा सम्पन्न भएको थियो, जसमा जिल्ला फुटबल संघ, सिन्धुपाल्चोकले प्राविधिक सहयोग पुर्याएको थियो। पहिलो हाफसम्म दुवै टोलीले २–२ को बराबरी खेलेका थिए भने दोस्रो हाफमा उद्योग वाणिज्य संघले निर्णायक गोल गर्दै उपाधि सुनिश्चित गर्यो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका सल्लाहकार सभापति बेद बहादुर श्रेष्ठले रेफ्रीलाई खेल सामग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए। उनले उद्घाटन मन्तव्यमा खेलकुद र पर्यटन क्षेत्रको संयोजनले स्थानीय तथा राष्ट्रिय आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा संस्थापक तथा पूर्वअध्यक्षहरुको योगदानको चर्चा गर्दै उनीहरुलाई सम्मान पनि गरिएको थियो। विजेता तथा उपविजेता खेलाडीहरुलाई सिल्ड, ट्रफी र मेडल वितरण गरिनुका साथै आमन्त्रित अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले सुकुटे लगायत जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै निजी क्षेत्रमार्फत राज्यको आम्दानी बढाउने लक्ष्य रहेको उल्लेख गरे।
सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र सिंह थापाले यस्तो प्रकारको आयोजनाले पर्यटनमैत्री वातावरण सृजना गर्दै आपसी सहकार्यलाई मजबुत बनाउने बताए।
यस प्रतियोगिताले खेल र पर्यटन क्षेत्रबीचको सहकार्यलाई गहिर्याउँदै स्थानीयस्तरको प्रयासलाई राष्ट्रिय रुपमा उजागर गर्न भूमिका खेलेको देखिएको छ।
