सुनकोशी समाचार
सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको जिल्ला कार्यसमिति पूर्णता पाएको छ। नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको हालै सम्पन्न बैठकबाट रिक्त रहेका विभिन्न पदाधिकारी तथा सदस्य पदमा मनोनयन गरिएको हो।
बैठकको निर्णयअनुसार उपाध्यक्ष पदमा अम्बर श्रेष्ठलाई मनोनयन गरिएको छ भने सदस्यहरूमा प्रकाश न्यौपाने, लक्ष्मण नेपाल, सुजाता पराजुली, इस्तर बिसुन्खे र लवाङ तामाङलाई चयन गरिएको छ।
मनोनयन कार्यक्रम नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका प्रतिनिधि सरोज बास्कोटा, सिनियर प्रशिक्षक सानुबाबु महर्जन, जिल्ला तेक्वान्दो संघका अध्यक्ष रामचन्द्र कार्की, उपाध्यक्ष रमेश गुरुङलगायत सम्पूर्ण जिल्ला कार्यसमिति सदस्य तथा विभिन्न डोजाङका प्रमुखहरूको उपस्थितिमा सम्पन्न भएको हो।
नयाँ मनोनयनसँगै सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको कार्यसमिति १५ सदस्यीय बनेको छ।
कार्यक्रमका अवसरमा सिन्धुपाल्चोक तेक्वान्दोका जन्मदाता तथा पूर्व जिल्ला अध्यक्ष प्रेम बहादुर भण्डारी नेपाल तेक्वान्दो संघको केन्द्रीय सदस्यमा चयन भएकोप्रति सम्मान कार्यक्रम समेत आयोजना गरिएको थियो। भण्डारीले सिन्धुपाल्चोक जिल्लालाई तेक्वान्दो खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पुर्याएको योगदानको कदर गर्दै जिल्ला तेक्वान्दो संघले विशेष सम्मान प्रदान गरेको हो।
जिल्ला तेक्वान्दो संघका सचिव माधव विकका अनुसार नयाँ कार्यसमिति गठनसँगै जिल्लामा तेक्वान्दो खेलको विकास, खेलाडी उत्पादन तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा थप सशक्त भूमिका निर्वाह गर्ने विश्वास लिइएको जनाएका छन्।
सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको कार्यसमिति पूर्ण, नयाँ पदाधिकारी मनोनयन
