सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
सुनकोशी,,सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–५ मा अवस्थित श्री भुमेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीहरूको शैक्षिक तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले पोखरा, पाल्पा र लुम्बिनी लक्षित शैक्षिक भ्रमण कार्यक्रम आयोजना गरेको छ।
विद्यालयका अनुसार माघ ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने उक्त शैक्षिक भ्रमणका लागि विद्यालयबाट विद्यार्थी तथा शिक्षकहरू बसमार्फत प्रस्थान गर्ने तयारी पूरा भइसकेको छ। भ्रमणका क्रममा ऐतिहासिक, शैक्षिक तथा सांस्कृतिक महत्वका स्थलहरूको अवलोकन गराइने विद्यालयले जनाएको छ।
उक्त शैक्षिक भ्रमणका लागि आवश्यक सम्पूर्ण खर्च सुनकोशी गाउँपालिका–५, सुनखानी निवासी तथा समाजसेवी व्यक्तित्व रत्नबहादुर खड्काका कान्छा सुपुत्र, हाल अष्ट्रेलियालाई कर्मभूमि बनाउँदै न्यायालयजस्तो गरिमामय क्षेत्रमा वकिलका रूपमा कार्यरत तथा गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाका सचिव कल्याण खड्काले वहन गर्नुभएको हो।
आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक भ्रमण तथा अवलोकनको अवसर प्रदान गर्ने उद्देश्यले खड्काले व्यक्तिगत पहलमा सम्पूर्ण आर्थिक सहयोग उपलब्ध गराउनुभएको विद्यालयले जनाएको छ। यस किसिमको योगदानले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउनुका साथै समाजप्रतिको उत्तरदायित्व र प्रेरणासमेत प्रदान गर्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।
विद्यालय परिवारले शैक्षिक क्षेत्रप्रति देखाएको उदारता र योगदानप्रति समाजसेवी कल्याण खड्काप्रति आभार व्यक्त गर्दै आगामी दिनमा यस्ता सहयोगले ग्रामीण क्षेत्रका शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छ।
