सुनकोशी समाचार
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सुनकोशी गाउँपालिकामा महाधिवेशन तयारी समिति संयोजकको जिम्मेवारी युवा नेता कुमार बस्नेतलाई दिएको छ।
सुनकोशी गाउँपालिका–५ का बस्नेत नेपाली कांग्रेस सुनकोशी गाउँपालिका–५ का पूर्वसभापतिसमेत हुन्। उनी कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतनिकट रहेको बताइन्छ।

संस्थापनइतर समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार १५औँ महाधिवेशनअन्तर्गत असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ। त्यसपछि क्रमशः गाउँ/नगरपालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।
तयारी समितिको कार्यतालिकाअनुसार:
* वडा अधिवेशन — असोज १५ गते
* गाउँ/नगरपालिका अधिवेशन — असोज २० गते
* प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन — असोज २३ गते
* जिल्ला अधिवेशन — कात्तिक १५ गते
* प्रदेश अधिवेशन — मंसिर ४ गते
* केन्द्रीय महाधिवेशन — मंसिर २१, २२ र २३ गते, काठमाडौं
बस्नेतले संस्थापनइतर समूहले तय गरेको कार्यतालिकाअनुसार सुनकोशी गाउँपालिकामा महाधिवेशनसम्बन्धी तयारी अघि बढाइने बताए।
संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी समिति गठन गरेको छ। उक्त समूहले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
