सुनकोशी समाचार
सिन्धुपाल्चोक । रसुवामा आएको भीषण बाढीपहिरोबाट प्रभावित सिन्धुपाल्चोकका नागरिकलाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस नेतृत्वमा रहेका स्थानीय तहहरूले धमाधम राहत प्याकेज घोषणा गरेका छन्।
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको समन्वय तथा निर्देशनमा सिन्धुपाल्चोक क्षेत्र नं. १ अन्तर्गत कांग्रेस नेतृत्वमा रहेका विभिन्न स्थानीय तहले बाढीपहिरो प्रभावितलाई नगद राहत उपलब्ध गराउने निर्णय गरेका हुन्।
निर्णयअनुसार भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले प्रतिव्यक्ति २ लाख रुपैयाँ, बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले प्रतिव्यक्ति १ लाख १५ हजार रुपैयाँ, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले प्रतिव्यक्ति १ लाख २५ हजार रुपैयाँ र सुनकोशी गाउँपालिकामा उपाध्यक्ष कान्छी लामाको पहलमा प्रतिव्यक्ति १ लाख ७५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको जनाइएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोका कारण रोजगारी तथा अन्य सिलसिलामा रसुवा पुगेका सिन्धुपाल्चोकका नागरिक प्रभावित भएका छन्। केहीको मृत्यु भएको छ भने ठूलो संख्यामा नागरिक बेपत्ता तथा प्रभावित भएका छन्।
पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थानीय तहहरूले आफ्नो स्रोतबाट राहत प्याकेज घोषणा गरेका हुन्।
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतका अनुसार क्षेत्र नं. १ अन्तर्गत कांग्रेसले नेतृत्व गरेका नगरपालिका तथा गाउँपालिकामा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको समन्वय तथा निर्देशनमा राहत प्याकेज घोषणा गर्ने निर्णय गरिएको हो।
सभापति बस्नेतका अनुसार कांग्रेसले जितेका नगरपालिका र पालिका तथा उपाध्यक्ष सहित कार्यपालिकामा बहुमत रहेको सुनकोशी गाउँपालिकालगायत अन्य स्थानीय तहमा समेत प्रभावित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको छ।
बाढीपहिरोबाट ठूलो क्षति व्यहोरेका परिवारलाई स्थानीय सरकारबाटै उल्लेख्य रकम राहतस्वरूप उपलब्ध गराउने निर्णयले पीडितलाई तत्काल आर्थिक सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रभावित नागरिकको अवस्था हेरेर आगामी दिनमा थप राहत तथा पुनःस्थापनाका कार्यक्रमसमेत अघि बढाइने कांग्रेस नेताहरूले बताएका छन्।
