सुनकोशी समाचार
सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका ६१ जना नागरिक प्रभावित भएका छन्। तीमध्ये एक जनाको शव फेला परेको छ भने ६० जना अझै बेपत्ता रहेको बाह्रबिसे नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार बाढीमा बेपत्ता हुने अधिकांश नागरिक रोजगारीको सिलसिलामा रसुवा पुगेका थिए। उनीहरू लामो समयदेखि सम्पर्कविहीन भएपछि परिवारजनमा थप चिन्ता र पीडा बढेको छ। कतिपय परिवारका मुख्य आम्दानीकर्ता नै बेपत्ता भएपछि आश्रित परिवारको दैनिक जीवनसमेत संकटमा परेको नगरपालिकाले जनाएको छ।
बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बाढीमा आफ्ना ६१ जना नगरवासी प्रभावित भएको पुष्टि गर्दै एक जनाको शव फेला परेको र ६० जना अझै बेपत्ता रहेको बताए।
“हाम्रा नगरका नागरिक रोजगारीको सिलसिलामा रसुवा गएका थिए। बाढीमा परी ६१ जना प्रभावित भएका छन्। एक जनाको शव भेटिएको छ भने ६० जना अझै हराइरहनुभएको छ,” मेयर बस्नेतले भने, “कतिपय परिवारमा कमाएर ल्याउने व्यक्ति नै बेपत्ता भएपछि बाह्रबिसे नगरपालिका मात्र होइन, सिंगो सिन्धुपाल्चोक नै शोकमा परेको छ।”
बेपत्ता तथा मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बाह्रबिसे नगरपालिकाले प्रतिपरिवार १ लाख १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। उक्त रकम नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइने जनाइएको छ।
बाह्रबिसे नगरपालिका–३ का वडाध्यक्ष जीवन भण्डारीले विपद्मा परेका परिवारलाई तत्काल राहत र सहयोग आवश्यक रहेकाले नगरपालिकाको विपद् कोषबाट सहयोग गर्ने निर्णय गरिएको बताए।
“केन्द्र सरकारबाट आउने राहत पीडित परिवारसम्म पुग्न कति समय लाग्छ भन्ने यकिन छैन। अहिले आश्रित परिवार निकै कठिन अवस्थामा छन्। त्यसलाई मध्यनजर गर्दै नगरपालिकाको विपद् कोषबाट तत्काल सहयोग गर्न लागेका हौँ,” भण्डारीले भने।
नगरपालिकाले बेपत्ता नागरिकको खोज तथा उद्धारलाई समेत प्राथमिकतामा राखेको छ। सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी बाढी र पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियान सञ्चालन भइरहेको वडाध्यक्ष भण्डारीले जानकारी दिए।
“हामी आफ्ना नागरिकहरूको खोज तथा उद्धारमा निरन्तर खटिरहेका छौँ। धेरै नागरिक अझै सम्पर्कविहीन हुनुहुन्छ। केही फेला पर्छ कि भन्ने आशामा बाढी र पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार गरिरहेका छौँ,” उनले भने।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि रोजगारीका लागि विभिन्न स्थानमा पुगेका सिन्धुपाल्चोकका नागरिकसमेत प्रभावित भएका छन्। परिवारका सदस्य बेपत्ता भएपछि उनीहरूको अवस्थाबारे जानकारी लिन र उद्धारको पर्खाइमा रहेका परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनु चुनौती बनेको छ।
बाह्रबिसे नगरपालिकाले बेपत्ता नागरिकको खोजीलाई पहिलो प्राथमिकतामा राख्दै राहत वितरण तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने काम अघि बढाएको जनाएको छ। नगरपालिकाले सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।
