Breaking
Sun. Sep 13th, 2026

उपत्यकामै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा, सुनकोशी–७ का ७१ लाभग्राही लाभान्वित

सुनकोशी समाचार
कुमार बस्नेत(अधिराज)
सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–७ ले उपत्यकामा बसोबास गर्दै आएका वडावासीलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा सञ्चालन गरेको छ। गाउँपालिकाबाट टाढा रहेका ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले भक्तपुरको राधेराधेमा सेवा सञ्चालन गरिएको हो।

२०८३ साल भदौ २१ गते वडा अध्यक्ष ईश्वर तिमल्सिनाको अध्यक्षतामा राधेराधेमा सञ्चालन गरिएको नवीकरण कार्यक्रममा वडाबाट उपत्यकामा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीले सेवा लिएका छन्।

वडाले आफ्नै कार्यालय सम्म पुग्नुपर्ने बाध्यता हटाउँदै लाभग्राही बसेकै स्थान नजिकबाट सेवा उपलब्ध गराएपछि ज्येष्ठ नागरिक तथा अभिभावकहरूले खुसी व्यक्त गरेका छन्।

वडा अध्यक्ष तिमल्सिनाले “वडावासी बुबाआमाको सहजता र खुसी नै हाम्रो खुसी हो” भन्दै उपत्यकामा बसोबास गर्ने नागरिकलाई स्थानीय तहको सेवा घरदैलो नजिकै पुर्‍याउने प्रयास गरिएको बताउनुभयो।

उहाँका अनुसार सुनकोशी गाउँपालिका–७ का वडावासीसँगै सुनकोशी गाउँपालिकाका अन्य वडाबाट उपत्यकामा बसोबास गरिरहेका सम्पर्कमा आएका लाभग्राहीको समेत सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको बताउनु भयो।

पहिलो दिन ७१ जना लाभग्राहीले सेवा लिएका छन्। सेवाग्राहीको चाप र आवश्यकतालाई ध्यानमा राख्दै नवीकरण सेवा भोलि सोमबार दिउँसो ४ बजेसम्म निरन्तर सञ्चालन गरिने वडा अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो।

स्थानीय तहबाट प्रदान गरिने सामाजिक सुरक्षा लगायतका सेवाहरू नागरिक बसेकै स्थानमा पुगेर उपलब्ध गराउने यस्ता कार्यक्रमले विशेषगरी ज्येष्ठ नागरिक, अशक्त तथा उपत्यकामा बसोबास गर्ने ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *