Breaking
Sun. Sep 13th, 2026

भोटेकोशी बाढी : ७३ बेपत्ता परिवार र मृतकका परिवारलाई २ लाख राहत

Screenshot

सुनकोशी समाचार
सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाले ७३ बेपत्ता परिवार र एक जना मृतकका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाको अध्यक्षतामा भदौ १५ गते बसेको आकस्मिक गाउँ कार्यपालिका बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

गाउँपालिकाका अनुसार बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका संरक्षक, अभिभावक वा परिवारका मुख्य व्यक्तिको बैंक खातामार्फत राहत रकम उपलब्ध गराइनेछ ।

जोखिममा परेकाको हेलिकोप्टरबाट उद्धार गरिने

बाढी तथा पहिरोका कारण सडक र पुल अवरुद्ध भई जोखिममा परेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यकताअनुसार हेलिकोप्टरलगायत हवाई साधन प्रयोग गर्ने निर्णय पनि गाउँपालिकाले गरेको छ ।

उद्धार तथा खोजी कार्यका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसँग आवश्यक समन्वय गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक दाहालका अनुसार बाढीबाट प्रभावित तथा सम्पर्कविहीन नागरिकको यकिन विवरण वडा कार्यालयमार्फत संकलन गरिसकिएको छ ।

उनका अनुसार पीडित परिवारलाई आवश्यकताअनुसार खाद्यान्नलगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय भइरहेको छ ।

Screenshot

Screenshot

खोजी, उद्धारदेखि पुनःस्थापनासम्मको खर्च गाउँपालिकाले व्यहोर्ने

बाढी तथा पहिरोबाट प्रभावित नागरिकको खोजी, उद्धार, उपचार, सुरक्षित स्थानान्तरण तथा पुनःस्थापनामा लाग्ने आवश्यक खर्च विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णयसमेत बैठकले गरेको छ ।

यसबाट तत्काल उद्धार तथा राहत आवश्यक भएका परिवारलाई स्थानीय तहबाटै आवश्यक सहयोग उपलब्ध गराउने बाटो खुलेको गाउँपालिकाले जनाएको छ ।

दाता र संघ–संस्थालाई सहयोग गर्न आह्वान

बाढीपीडित नागरिकलाई सहयोग गर्न इच्छुक संघ–संस्था तथा व्यक्तिहरूलाई गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक आह्वान गर्ने निर्णय पनि गरिएको छ ।

गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले सामाजिक संघ–संस्था, विभिन्न दाता तथा सहयोगी निकायसँग समन्वय गरी बाढीबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन गाउँपालिका निरन्तर सक्रिय रहेको बताए ।

विपद् व्यवस्थापन कार्यविधि संशोधन

बैठकले ‘विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०’ लाई पहिलो संशोधन गरी २०८३ मा लागू गर्ने निर्णयसमेत गरेको छ ।

गाउँपालिकाले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, बेपत्ता तथा प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

भीषण बाढीपछि भोटेकोशी गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा स्थानीय सरकारले राहत, उद्धार र पुनःस्थापनालाई प्राथमिकतामा राख्दै तत्कालीन तथा दीर्घकालीन व्यवस्थापनका लागि कदम अघि बढाएको जनाएको छ ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *