Breaking
Fri. Mar 6th, 2026

नेपाली काँग्रेस सुनकोशी गाउँपालिकास्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया सम्पन्न

सुनकोशी समाचार

सुनकोशी । नेपाली काँग्रेस सुनकोशी गाउँपालिकास्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुनकोशी गाउँपालिका–४ मा अवस्थित सिन्धु बिच रिसोर्टमा आयोजना गरिएको हो ।
कार्यक्रम नेपाली काँग्रेस सुनकोशी गाउँपालिका उपसभापति बिनोद खड्काको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली काँग्रेस महासमिति सदस्य तथा पुर्व सुनकोशी गाँउपालिका अध्यक्ष श्रवणकुमार जीसी (बिनोद) तथा विशेष अतिथिका रूपमा महासमिति सदस्य तथा सुनकोशी ६ का पुर्व अध्यक्ष राम कुमार थापा र नेपाली काँग्रेस जिल्ला सदस्य एवं सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कान्छी लामाको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रवणकुमार जीसीले नेपाली काँग्रेस जनताको पार्टी भएको उल्लेख गर्दै संगठनलाई जनस्तरसम्म अझ बलियो बनाउन कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, नेपाली काँग्रेसको शक्ति भनेकै कार्यकर्ता हुन् । संगठनलाई तलदेखि माथिसम्म मजबुत बनाएर मात्रै आगामी निर्वाचनमा विजय हासिल गर्न सकिन्छ । उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा काँग्रेसका उम्मेदवार जंग बहादुर लामालाई जिताउनु सम्पूर्ण पार्टी पंक्तिको साझा दायित्व भएको स्पष्ट पार्नुभयो ।

विशेष अतिथि महासमिति सदस्य तथा सुनकोशी–६ का पूर्व अध्यक्ष रामकुमार थापाले पार्टी संगठनलाई समयअनुकूल चलायमान बनाउँदै कार्यकर्ताको भूमिका अझ सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, नेपाली काँग्रेसले जहिले पनि लोकतन्त्र, समावेशिता र जनताको हक–अधिकारका लागि संघर्ष गर्दै आएको छ । अहिलेको आवश्यकता भनेको संगठनभित्र आपसी समझदारी र एकतालाई थप सुदृढ गर्दै जनताका समस्या समाधानमा केन्द्रित हुनु हो । उहाँले आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने जिम्मेवारी प्रत्येक नेता–कार्यकर्ताको काँधमा रहेको उल्लेख गर्दै काँग्रेस उम्मेदवारलाई विजयी बनाउन सबै तहबाट इमान्दार प्रयास आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी विशेष अतिथि कान्छी लामाले स्थानीय तहमा काँग्रेसको भूमिकालाई अझ प्रभावकारी बनाउन जनतासँग प्रत्यक्ष सम्पर्क आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, घरदैलो कार्यक्रममार्फत जनताको भावना बुझ्दै काँग्रेसका एजेन्डा घर–घरमा पुर्‍याउनु आजको आवश्यकता हो । उहाँले पार्टीभित्रको एकता, अनुशासन र समन्वय नै चुनावी सफलताको आधार हुने बताउनुभयो ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, वडा सभापतिहरू तथा पार्टी नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले संगठन विस्तार, चुनावी रणनीति र जनसम्पर्क अभियानलाई प्रभावकारी बनाउने विषयमा धारणा राखेका थिए ।
कार्यक्रमले आगामी फागुन २५ र २६ गते सुनकोशी गाउँपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । कार्यक्रमको अन्त्यमा आगामी निर्वाचनलाई लक्षित गर्दै एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *