सुनकोशी समाचार
सिन्धुपाल्चोक, १३ माघ २०८२
सडक दुर्घटना न्यूनीकरण गर्ने र विद्यार्थीहरूमा ट्राफिक नियमप्रतिको सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा ‘ट्राफिक शिक्षक’ कार्यक्रम सुरु गरिएको छ । मेलम्ची नगरपालिका र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको समन्वयमा मंगलबार एक विशेष समारोहका बीच कार्यक्रमको भव्य रूपमा शुभारम्भ गरिएको हो ।

मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो । “शून्य मानवीय क्षति” को लक्ष्यसहित सञ्चालन गरिएको यस अभियानले विद्यालयस्तरबाटै अनुशासित, जिम्मेवार र सचेत नागरिक उत्पादन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रमअन्तर्गत विद्यालयका शिक्षकहरूलाई ट्राफिक प्रहरीले विशेष प्रशिक्षण प्रदान गर्नेछ । प्रशिक्षण प्राप्त शिक्षकहरूले आ–आफ्ना विद्यालयमा विद्यार्थीहरूलाई सडक सुरक्षा, पैदलयात्रीको व्यवहार, सवारी चिह्न तथा ट्राफिक नियमसम्बन्धी सैद्धान्तिक ज्ञान दिनेछन् । साथै, नजिकका ट्राफिक प्रहरी कार्यालयका कर्मचारीहरूले विद्यार्थीहरूलाई सडकमा प्रत्यक्ष लगेर व्यावहारिक अभ्यास (प्राक्टिकल सेसन) समेत गराउने व्यवस्था गरिएको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि एवं नगर प्रमुख आइतमान तामाङले आजका विद्यार्थी नै भोलिका देशका कर्णधार भएकाले उनीहरूलाई बाल्यकालदेखि नै सडक अनुशासन सिकाउनु अत्यावश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक अनुशासन हाम्रो सभ्यताको मापन हो । ‘ट्राफिक शिक्षक’ कार्यक्रमले नगरभित्र सवारी सुरक्षामा नयाँ आयाम थप्नेछ ।”
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न पूर्व–सजगता अपरिहार्य रहेको उल्लेख गर्दै कार्यक्रमको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य र दीर्घकालीन प्रभावबारे प्रकाश पार्नुभएको थियो ।
समारोहमा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजाल, नेपाली सेनाका सेनानीद्वय तारा श्रेष्ठ र सरादेवी तामाङ, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सुवास कार्की, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक कुमार थापा लगायतको उपस्थिति रहेको थियो ।
प्रहरी वरिष्ठ नायब निरीक्षक विष्णु थापाले सञ्चालन तथा प्रशिक्षण प्रदान गर्नुभएको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा सहभागी अतिथिहरूलाई कृतज्ञताको चिनो प्रदान गरिएको थियो ।
‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनसँगै मेलम्ची क्षेत्रका विद्यालयहरूमा ट्राफिक नियम पालनाको संस्कृति विकास हुने र दीर्घकालीन रूपमा सडक दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ ।
