सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
सिन्धुपाल्चोक – सवारी दुर्घटना न्यूनिकरण र सडक सभ्यता अभिवृद्धिका उद्देश्यले सिन्धुपाल्चोक जिल्लामा पहिलोपटक ‘ट्राफिक टिचर कार्यक्रम’ सञ्चालन गर्न लागिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, अँधेरी, सिन्धुपाल्चोकको पहलमा सुरु गर्न लागिएको यस कार्यक्रम अन्तर्गत विद्यालय स्तरमै विद्यार्थीहरुलाई सडक सुरक्षा र ट्राफिक नियमबारे व्यवहारिक ज्ञान दिन प्रशिक्षित शिक्षकमार्फत सचेतना अभिवृद्धि गरिनेछ।
जिल्ला शिक्षा समन्वय इकाई सिन्धुपाल्चोक र १२ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूको सहभागितामा आयोजित कार्यक्रममार्फत ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि) विष्णु थापाले योजनाबारे जानकारी दिनुभयो। उहाँका अनुसार, “आजका विद्यार्थी भोलिका जिम्मेवार नागरिक हुन्। विद्यालयमै सडक सुरक्षा र ट्राफिक नियमबारे सचेत पार्न सकेमा उनीहरू आफैं सजग हुने मात्र नभई घरपरिवार र समाजलाई समेत सचेत बनाउन सक्नेछन्।”
कार्यक्रमअनुसार, सामुदायिक तथा संस्थागत विद्यालयका प्रत्येक विद्यालयबाट कम्तीमा एक जना शिक्षक वा शिक्षिकालाई ट्राफिक प्रहरीद्वारा विशेष तालिम दिइनेछ। तालिम प्राप्त शिक्षकहरूले आफ्ना विद्यालयमा ‘ट्राफिक सचेतना कक्षा’ सञ्चालन गर्ने र नजिकैको ट्राफिक प्रहरी कार्यालयको सहयोगमा व्यवहारिक अभ्यास समेत गराइने योजना रहेको छ।
सडक सुरक्षा सचेतनालाई दीर्घकालीन र प्रभावकारी बनाउन विद्यालयमा ‘ट्राफिक सदन’ गठन गरी त्यसकै अग्रसरतामा अभियान सञ्चालन गरिनेछ। साथै, तालिम प्राप्त शिक्षकहरूलाई वर्षमा कम्तीमा एकपटक पुनर्ताजगी तालिम दिइने र विद्यार्थीहरूले ट्राफिक शिक्षाबाट कस्तो प्रभाव पाएका छन् भन्नेबारे अनुगमन तथा मूल्याङ्कन गरिनेछ।
अनुगमन प्रतिवेदन, सरोकारवालाको प्रतिक्रिया र पृष्ठपोषणको आधारमा आगामी दिनमा थप नीतिगत कार्यक्रम र कार्ययोजना तय गरिने ट्राफिक प्रमुख थापाले बताउनुभयो। उहाँले यस अभियानलाई सफल बनाउन स्थानीय तह, शिक्षा क्षेत्रका सरोकारवाला तथा समुदायको सहयोग अपेक्षित रहेको समेत उल्लेख गर्नुभयो।
यो अभियान सफलतापूर्वक लागू भएपछि बालबालिकामार्फत परिवार र समुदायसम्म सडक सुरक्षा र अनुशासनबारे सचेतना फैलाउने अपेक्षा गरिएको छ।
