सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
बाह्रबिसे भदौ ८ आईतवार — बाह्रबिसे नगरपालिकाले आइतबार आयोजना गरेको ‘तिज विशेष’ सांस्कृतिक कार्यक्रम अत्यन्तै उत्साहपूर्वक सम्पन्न भएको छ। नगरपालिकाले हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर बाह्रबिसेको खुर्सानीबारी फुटबल ग्राउण्डमा आयोजना गरेको कार्यक्रममा कलाकारहरूको दमदार प्रस्तुति र स्थानीय महिलाहरूको जोशपूर्ण सहभागिता देखिएको थियो।
सांगीतिक प्रस्तुतीका क्रममा गायिका ज्योति मगरको तिज गीत लठ्ठै पार्यो तन्नेरी मलाई हेरी हेरी मा सहभागी महिला तथा दर्शकहरू उत्साहपूर्वक झुमेका थिए। करिब दुई साताअघि मात्र सार्वजनिक भएको सो गीतमा दर्शक, कलाकार मात्र होइन, कार्यक्रमका अतिथिहरूले समेत कम्मर मर्काउँदै साथ दिएका थिए। उपस्थित दर्शकहरूको उत्साहपूर्ण हुटिङ र नृत्यले कार्यक्रमको वातावरण झन् रौनकिलो बनेको थियो।
कार्यक्रममा प्रमुख अतिथि कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत, विशिष्ट अतिथि बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री मसिना खड्का भण्डारी, कार्यक्रमका सभापति बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतसहित विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मेयर बालकृष्ण बस्नेतले तिज पर्व महिला अधिकार र सम्मानसँग जोडिएको सांस्कृतिक पर्व भएकाले महिलाहरूलाई सम्मान र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नगरपालिका तर्फबाट यो विशेष कार्यक्रम आयोजना गरिएको बताउदै हाम्रो संस्कृति र परम्परालाई बचाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण छन्। महिलाको उत्साहपूर्ण सहभागिता देख्दा हाम्रो उद्देश्य सफल भएको मेयर बस्नेतले बताउनु भयो।
प्रमुख अतिथि मोहन बहादुर बस्नेतले सांस्कृतिक कार्यक्रम समुदायलाई एकजुट बनाउने महत्वपूर्ण माध्यम भएको बताउदै
तिजजस्ता पर्वले समाजमा उत्साह, प्रेम र एकताको सन्देश दिन्छ। बाह्रबिसे नगरपालिकाले महिलाको सम्मानमा आयोजना गरेको यो कार्यक्रम प्रशंसनीय भएको पूर्वमन्त्री बस्नेतले बताउनु भयो।
विशिष्ट अतिथि मसिना खड्का भण्डारीले महिलाको सशक्तीकरण र सहभागिता बढाउन यस्ता सांस्कृतिक गतिविधि महत्त्वपूर्ण भएको उल्लेख गर्दै तिज अब मात्र गीत-संगीतको पर्व नभई महिलाको आत्मविश्वास र पहिचान प्रस्तुत गर्ने मंच बनेको छ। यसरी खुला स्थानमा सबैलाई सहभागी गराउने कार्यक्रम सराहनीय भएको भण्डारीले बताउनु भयो।
सांस्कृतिक कार्यक्रममा करिब आधा दर्जन कलाकारहरूले विभिन्न तीज गीतमा प्रस्तुति दिएका थिए। स्थानीय दिदीबहिनीहरूले समेत खुला रूपमा आफ्नो प्रतिभा प्रदर्शन गर्दै कार्यक्रमलाई थप रंगिन बनाएका थिए।
सहभागी महिलाहरूले यस्तो खालको सांस्कृतिक कार्यक्रमले आफ्नो आत्मविश्वास बढाएको र समुदायमा एकताको भावना मजबुत पारेको अनुभव साझा गरे।
यसरी खुला स्थानमा हामीलाई नाचगान गर्न अवसर दिनु निकै रमाइलो र सम्मानजनक हो एक सहभागी महिलाले भन्नु भयो।
बाह्रबिसे नगरपालिकाले आयोजना गरेको यो तिज विशेष सांस्कृतिक महोत्सवमा नगरवासीको ठूलो सहभागिता देखिएको थियो।
