Breaking
Sat. Jan 17th, 2026

बनदेउमा चालकको ला.पा.से तथा कागजात चेकजाँच, दुर्घटना रोकथाममा जोड

सुनक‍शी समाचार
कुमार बस्नेत(अधिराज)

भाद्र ३ मंगलबार — सवारी दुर्घटना रोकथाम तथा न्यूनिकरणका लागि सिन्धुपाल्चोकमा सार्वजनिक सवारीसाधन चालकहरुको स्वास्थ्य र कागजात चेकजाँच अभियान सञ्चालन गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चौतारा र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीले उक्त अभियान सञ्चालन गरेको हो।

अभियान अन्तर्गत अरनिको राजमार्ग र बनदेउ –चौतारा सडकखण्डमा सञ्चालन हुने सार्वजनिक बस तथा यात्रुवाहक सवारीका चालकहरुको लाइसेन्स, पास र स्वास्थ्य,लागू पदार्थ सेवन (ला.प.से.) परीक्षण गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु थापाका अनुसार, नियमित स्वास्थ्य परीक्षण, आवश्यक कागजातको प्रमाणीकरण र ट्राफिक नियमको पालना सम्बन्धी निगरानी मार्फत सडक दुर्घटना घटाउने उद्देश्य राखिएको छ। उहाँले भन्नु भयो दुर्घटनाको प्रमुख कारणमध्ये चालकको स्वास्थ्य अवस्था, लापरबाही र ट्राफिक नियमको अवज्ञा पर्छन्। यसलाई रोक्न यस्ता चेकजाँच निरन्तर गरिनेछ। चालकलाई जरिवान भन्दा पनि सुजाव जनचेतनामूलक कार्यको वढि आवश्यक रहेको प्रमुख थापाले बताउनु भयो।

कार्यक्रममा सहभागी जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुले चालकहरुको रक्तचाप, दृष्टि परीक्षण, नशा सेवनको अवस्था लगायत स्वास्थ्य जाँचसमेत गरेका थिए।

यात्री सावित्री खड्का भन्नू हुन्छ यस क्षेत्रमा वर्षेनी ठूला दुर्घटना हुने गर्छन्। प्रहरी र स्वास्थ्यकर्मीले यस्ता चेकजाँच गर्दा चालकहरु जिम्मेवार बन्छन् र यात्रु पनि सुरक्षित महसुस गर्छन्।

त्यस्तै, लामो दूरीका बस चालक हरि तामाङले भने, हामी निरन्तर यात्रु बोकेर लामो दूरी चलाउँछौँ। यस्तो स्वास्थ्य परीक्षणले हामीलाई पनि आफ्नो स्वास्थ्यप्रति सचेत गराउँछ, साथै ट्राफिक नियम पालना गर्न थप प्रेरणा दिन्छ।

सडक दुर्घटनाबाट हुने मानविय तथा भौतिक क्षति कम गर्न चालकलाई सचेत बनाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने र अनुगमन कडाइ गर्ने योजना अनुसार अभियानलाई अघि बढाइएको जनाइएको छ। आगामी दिनमा अन्य राजमार्ग तथा ग्रामीण सडकखण्डमा समेत यस्ता कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीले जनाएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *