Breaking
Wed. Dec 10th, 2025

कृषकको हातमा समृद्धि: सुनकोशी–५ मा उपाध्यक्षको प्रमुख आतिथ्यमा धान दिवस सम्पन्न

सुनकोशी समाचार

सुनकोशी-असार १५ – मुठ्ठी रोपेर मुरी उव्जाउने नारासहित देशभर मनाइएको २२औं राष्ट्रिय धान दिवस–२०८२ सुनकोशी गाउँपालिका–५ सुनखानीमा पनि विशेष उत्सवका साथ सम्पन्न भएको छ। सुनकोशी गाउँपालिका र फेनसेप नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रम पालिका उपाध्यक्ष कान्छी लामाको प्रमुख आतिथ्यतामा तथा प्रमुख प्रशासकीय अधिकृत दिकेश प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रमुख अतिथि उपाध्यक्ष लामाले स्थानीय किसान कुमार खड्काको खेतमा धान रोपेर औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उहाँले धान दिवसको अवसरमा कृषकहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै भन्नुभयो, हाम्रो संस्कृति, हाम्रो पहिचान र हाम्रै जीवनको आधार कृषि हो। असार १५ को धान दिवस हिलोमा रमाउँदै किसानको श्रमको सम्मान गर्ने अवसर हो। स्थानीय उत्पादन र मौलिक परम्परालाई समेटेर यो पर्वलाई अझ सशक्त बनाउँदै लैजानुपर्छ।

कार्यक्रममा पालिकाका सबै शाखा प्रमुखहरू, देबिस्थान हेल्पपोष्टका स्वास्थ्यकर्मी, फेनसेप नेपालका प्रतिनिधिहरू, कृषि तथा पशुपन्छी शाखाका कर्मचारीहरू तथा स्थानीय किसानहरूको बाक्लो सहभागिता रहेको थियो। सहभागीहरूले खेतमा धान रोपेर हिलोमा रमाइरहेका दृश्यले धान दिवसलाई साँच्चिकै उत्सवको रूप दिएको थियो।

कार्यक्रमको समापन दही-चिउराको परम्परागत खाजासहित गरिएको थियो। उपाध्यक्ष लामाले किसानको परिश्रमको सम्मान गर्न धान दिवस जस्तो पर्वहरू केवल औपचारिकतामा सीमित नहुने गरी कृषिमा लगानी र नीतिगत समर्थन जरुरी रहेको बताउनु भयो।

कार्यक्रमको समापनमा अध्यक्षता गरिरहनु भएका प्रमुख प्रशासकीय अधिकृत दिकेश प्रजापतीले कृषिमा आधारित जीवनशैली हाम्रो पहिचानसँग जोडिएको बताउँदै धान दिवसजस्ता पर्वहरूले कृषकप्रतिको सम्मान र कदरलाई अझ जीवन्त बनाउँछन्। यस्ता कार्यक्रमले कृषिमा युवाहरूको आकर्षण बढाउन, परम्परागत ज्ञानको संरक्षण गर्न र स्थानीय उत्पादन प्रवर्द्धन गर्न ठूलो भूमिका खेल्ने बताउनु भयो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *