Breaking
Wed. Dec 10th, 2025

तोप–२१ प्रथम राष्ट्रिय खुला क्लब स्तरीय भलिबलको उपाधि पुलिसलाई  

सुनकोशी समाचार

रबिन्द्र खड्का

चौतारा,चौथो तोप–२१ प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुला क्लब स्तरीय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

सदरमुकाम चौताराको टुँडिखेल मिनिरंगशालामा बुधबार भएको फाइनलI खेलमा चिरपरिचत प्रतिद्वन्द्वी क्लब गण्डकी प्रदेशलाई स्तब्ध पार्दै पुलिसले उपाधि हात पारेको हो । एक पक्षीय जित निकाल्ने क्रममा पुलिसले गण्डकीलाई २५–१६, २५–१८ र २५–२२ को सोझो सेटमा पराजित गर्यो

उपाधिसँगै पुलिसले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । उपविजेतामा चित्त बुझाउन बाध्य गण्डकीले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्यो । सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल र गण्डकीले अर्को बलियो टोली कोसी प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

प्रतियोगिताको तेस्रो स्थान कोसी प्रदेशले हाँसिल गर्यो । कोसीले नगद ७५ हजार रुपैयाँ पुरस्कार पायो । तेस्रो स्थानको लागि भएको खेलमा कोसीले सशस्त्र प्रहरीलाई पराजित गरेको थियो ।

प्रतियोगिताको विधागत पुरस्कारमा पुलिसकै खेलाडीको वर्चस्व रह्यो । पुलिसलाई फाइनलसम्म पुर्याएर उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका पुलिसका रविनचन्द ठकुरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । कोसीका सन्तोष राई उत्कृष्ट लिवरो, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, पुलिसकै सफल बिक उत्कृष्ट ब्लकर घोषित हुँदा गण्डकीका सञ्जुबिक्रम साहले उत्कृष्ट स्पाइकरको उपाधि जिते । उनीहरुले जनही १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाए ।

विजेता टोली र खेलाडीहरुलाई बागमती प्रदेशका सांसद एवम् पूर्व मन्त्री युवराज दुलालले ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरेका थिए । तोप–२१ चौताराको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिकाको प्रवर्द्धनमा पाँच दिन चलेको प्रतियोगितामा तीन प्रदेश र तीन विभागीयसहित सात टोलीले प्रतिस्पर्धा गरेका थिए ।

यसअघि तोप–२१ ले दुई संस्करण राष्ट्रिय क्लब स्तरीय फुटबल र एक पटक राष्ट्रिय स्तरकै खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । फुटबल हुने टुँडिखेल मैदानमा मिनिरंगशाला निर्माण हुन थालेपछि खेल मैदान अभावमा आयोजकले ब्याडमिन्टन र भलिबल आयोजना गरेर प्रतियोगितालाई निरन्तरता दिँदै आएका छन् । रंगशाला तयार भएपछि पुनः फुटबल प्रतियोगितालाई नै निरन्तरता दिने तोप–२१ ले जनाएको छ ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *