रबिन्द्र खड्का
सुनकोशी समाचार
जलविरे, । सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका १, जलविरे मेलडाँडा निवासी ५ दिन अघिदेखि हराइरहेको भनिएकी ५७ बर्षिय धनमाया श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले हराएको भनिएकी जलवीरकी धनमायाको हत्या भएको बताउनुभयो । हत्याको आरोपमा गुल्मी कालिगण्डकी गाँउपालिका ४ ठेगाना भई हाल रुपेन्देहिको सैनामैना नगरपालिका ९ बस्ने रन बहादुर गाहालाई पक्राउ गरीएको छ । गाहा तल्लो बलेफी हाइड्रोपावर (साझा पावर हाइड्रोपावर कम्पनी) मा मजदुरको रुपमा कार्यरत रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।
भदौ २६ को साँझ इलाका प्रहरी कार्यालय जलवीर सिन्धुपाल्चोकमा धनमाया हराएको मौखिक सूचना आएको थियो । भोलिपल्ट श्रेष्ठकी छोरी पार्वतीले प्रहरीसामू खोजतलासका लागि निवेदन दिएपछि प्रहरीले धनमायाको खोजी सुरु गरेको थियो । मृतकको घर वरिपरि मृतकले लगाएको पोतेको गेडाहरु छरपस्ट रहेको र घटनाको प्रकृति हेर्दा मृतकलाई घिसारेर खोलामा फालिएको अनुमान स्थानीय बासीहरुले लगाएका थिए ।
खोजीका क्रममा भदौ २७ गते धनमायाको घरदेखि उत्तरतिर रहेको गोरेटो बाटोदेखि ब्रम्हायणी नदीको डिलसम्म चुँडिएको अवस्थामा ठाउँठाउँमा पोतेका दानाहरु प्रहरीले भेटेको थियो । धागोसहित भेटिएको पोतेका दानाहरु हराएकी धनमायाको भएको परिवारले पुष्टि गरका थिए । लगत्तै प्रहरीले साझा पावर हाइड्रोपावरमा मजदुरका रुपमा कार्यरत रुपन्देही सैनामैना नगरपालिका–९ का ३७ वर्षीय रन बहादुर गाहालाई शंकाको भरमा नियन्त्रणमा लिएको थियो ।
प्रहरीले मेहनतका साथ धनमायाको खोजीमा प्रहरीको संख्या बढाई कुकुरसहितको विशेषज्ञ टोलीबाट पोते भेटिएको स्थानको जाँच गरेको थियो । नदी किनार भएकाले खोलामा डुबेको हुनसक्ने आशंकामा गोताखोरसमेतको टोलीले खोजी कार्य गरेपनि कतैबाट धनमायाको अवस्थाबारे पत्तो लाग्न सकेको थिएन ।
प्रहरीले खोजी कार्य जारी रहेकै अवस्थामा सिन्धुलीबाट भदौ २७ गते दिउँसो चार बजेको समयमा सुनकोशी नदीमा एक महिलाको शव फेला परेको र सो शव सनाखत नभएकाले शवगृहमा राखिएको सुचना सिन्धुपाल्चोक प्रहरीले भदौ २९ गते साँझ पायो ।
अनुसन्धानका क्रममा धनमायाको परिवारसँग सम्पर्क गरेर भदौ ३० गते उनै धनमायाको शव भएको पहिचान खुल्यो । अहिले सो शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालको फरेन्सिक मेडिसिन विभाग पठाइएको छ ।
प्रहरीले शंकाको आधारमा नियन्त्रणमा लिएका रन बहादुरसँग सोधपुछ गर्दा उनले भदौ २५ गते धनमायाको घरमा उनीसहित उनका छोरा कमलदास र आफु घरेलु मदिरा सेवन गरेको र मदिरा सकिएपछि थप मदिरा लिएर आफु धनमायाको घरमा पुगेंको , त्यतिबेला कमलदास आफ्नै घर फर्किसकेका अनि आफु र धनमाया बिच थप मदिरा पिउने क्रममा विवाद भएको बताएका छन् । धनमाया घर बाहिर निस्किएपछि तान्दै गर्दा घाँटीमा लगाएको माला, पोते चुँडिएको र लखेट्दै जाँदा ब्रम्हायणी खोला ( बलेफी खोला) को डिलमा भेटेपछि उनलाई मदिराको तालमा खोलामा घचेडी दिएँको प्रहरी समक्ष बयान दिएका हुन् । रनबहादुरको यो अभिव्यक्तिपछि प्रहरीले उनको हत्या भएको पुष्टि गरेको हो ।
शव फेला पर्दा उनको कानमा मात्रै सुन रहेको प्रहरीले जनाएको छ । धनमायाले लगाएको सुनका गहनामाथि आँखा लागेर हत्यासम्म घटना पुगेको शंकामा प्रहरीले रन बहादुरलाई सोध्दा उनले आफु मदिराले लठ्ठ भएको र सुन चोर्न सक्ने अवस्थामा नभएको साथै सुनमाथि आँखा नलगाएको बताएका छन् । उनको यो अभिव्यक्तिले हत्याको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीका अनुसार रन बहादुर र धनमायाका छोरा कमलदास साथी–साथी हुन् । उनीहरु प्रायजसो चिया खाजा, खाना अनि मदिरा सँगै खाने गर्दथे । त्यसदिन तीन जनाले सँगै पिएको अनुसन्धानबाट खुलेको छ ।
