सुनकोशी समाचार
सिन्धुपाल्चोक जिल्ला, सुनकोशी गाउँपालिकाका जनप्रतिनिधिलाई विद्यालय सम्बन्धित लैङ्गिक हिंसा रोकथाम सम्बन्धी ३ दिने क्षमता विकास तालीम सम्पन्न भएको छ । भदौ ७ गतेदेखि ९ गते सम्म काभ्रेको धुलिखेल लज रिसोर्टमा तालीम सञ्चालन भएको थियो ।
तालीममा सुनकोशी गाउँपालिकाका, अध्यक्ष उपाध्यक्ष सहित, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, न्यायिक समिति सदस्य र विषयगत शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विद्यालयमा हुने हिंसाका स्वरुपहरु, कानुनी प्रावधानहरु, हिंसा रोकथामका संयन्त्रहरु र हिंसा निवारणमा भूमिका विषयमा तालीमका सत्रहरु सञ्चालन भएका थिए ।
तालीमका सहभागी, का.वा. वडा अध्यक्ष माया लामा भन्नुहुन्छ, धेरै कुरा सिकिन्छ तर व्यवहारमा लागु गर्न अझै पनि कठिन छ, परिवार समुदाय र समाजमा अझै पनि लैंगिक हिंसाको बारेमा चेतना पुग्न सकेको छैन । आफैँबाट सुरु गर्नेछु लैंगिक हिंसाको अन्त्य, म हिंसा सहँदिन र हिंसा भएको देखेमा सम्बन्धित निकायमा तुरुन्तै खबर गर्दछु । यसको लागि अब हाम्रो गा.पा.को कार्यक्रम योजना पनि त्यतातिर केन्द्रित हुन जरुरी छ । त्यसैले सोच र व्यवहार परिवर्तन गरौँ ।

पालिकाले पनि लैंगिक समानता, महिला, बालबालिका लक्षित योजना तथा बजेट ल्याएको छ तर पर्याप्त रहेनछ भन्ने सिकाई भयो । आजकै दिनदेखि लैंगिक समानता प्रवद्र्धन गर्न सिंगो पालिका प्रतिवद्ध रहने छ, म प्रतिवद्धता व्यक्त गर्दछु, उपाध्यक्ष कान्छी लामा भन्नु हुन्छ ।
गा.पा.का अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले बताउनु भयो, तालीममा सहभागिताको कुरा भन्दा पनि के कुरा सिकियो र अब के गर्न सकिन्छ भन्ने विषय महत्पूर्ण हो जस्तो लाग्छ । लैंगिकता, हिंसा, समानताको कुराहरु गर्दै गर्दा, हामी यी यस्ता प्रकृतिका घटनाहरुको न्यूनीकरण गराउने लक्ष्य सहित विद्यालय सम्बन्धि हिसा, कार्यस्थलमा हुने यौनजन्य हिंसा सहित सबै प्रकारको हिंसा अन्त्य गर्न पालिकाबाटै आचार संहिता निर्माण गरी विद्यालयस्तरमा पनि लागु गर्न प्रतिवद्ध छौँ ।
चाईल्डफण्ड जापान र चाईल्डफण्ड कोरियाको आर्थिक तथा प्राविधिक सहयोग र सुनकोशी गाउँपालिकासँगको सहकार्य र समन्वयमा टुकी संघ सुनकोशी, सिन्धुपाल्चोकले गाउँपालिकाका सात वटै वडाहरुमा विद्यालयमा लैंगिक समानता परियोजना कार्यान्वयन गरिरहेको छ । कक्षा ६ देखि १२ सम्म पठन पाठन हुने विद्यालय, (बालिका सहित जोखिममा रहेका अन्य बालबालिकाहरु (दलित, अपाङ्गता, बालक)ले सबै प्रकारको हिंसा र विभेदरहित वातावरणमा गुणस्तरीय शिक्षाको अधिकार प्राप्त गर्नेछन्) भन्ने लक्ष्य सहित, परियोजनाले लैंगिकतामा आधारित हिंसा रहित शिक्षण सिकाई, हिंसा रोकथाम सम्बन्धी क्षमता विकास, विद्यालय र विद्यार्थी केन्द्रित कार्यक्रम, संस्थागत तथा संरचनागत सुदृढीकरण र गुनासो सुनुवाईका उपक्षेत्रलाई समेट्दै आएको छ ।
तालिममा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, परामर्शकर्ता, अधिवक्ताहरुको पनि सहभागिता रहेको थियो । सहजकर्ता द्वय डा. संग्राम सिंह लामा र कुसुम विष्टले ३ दिने तालीम सहजीकरण गर्नु भएको थियो ।
