सुनकोशी समाचार
सिन्धुपाल्चोक । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको नियमित बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। जिल्ला कार्यसमितिको आफ्नै कार्यालय अँधेरीमा बसेको बैठकले संघको सांगठनिक, प्रशासनिक तथा आर्थिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो।
जिल्ला कार्यसमिति अध्यक्ष रामचन्द्र कार्कीको अध्यक्षतामा बसेको बैठकले सदस्य कुमार बस्नेतलाई जिल्ला सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।
यसअघि सचिवको जिम्मेवारीमा रहेका माधव बि.क. वैदेशिक रोजगारीका लागि विदेश गएपछि पदबाट राजीनामा दिएका थिए। बैठकले बि.क.को राजीनामा स्वीकृत गर्दै रिक्त सचिव पदमा बस्नेतलाई जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो।
त्यस्तै, बैठकले सुजन सेन्चुरीलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गर्ने निर्णय समेत गरेको छ। नयाँ जिम्मेवारी तथा मनोनयनसँगै जिल्ला कार्यसमितिको सांगठनिक संरचनालाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
बैठकले संघको बैंक खाता परिवर्तन गर्ने तथा आर्थिक कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने निर्णय गरेको छ। साथै संघको आर्थिक गतिविधिको नियमितता र पारदर्शिता कायम गर्न लेखापरीक्षण (अडिट) गर्ने निर्णयसमेत गरिएको अध्यक्ष कार्कीले बताउनुभयो।
अध्यक्ष कार्कीका अनुसार जिल्लामा तेक्वान्दो खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि, प्रशिक्षणलाई प्रभावकारी बनाउने तथा नयाँ प्रतिभाको पहिचान गरी अवसर प्रदान गर्ने विषयलाई संघले प्राथमिकतामा राख्नेछ।
“संघको संस्थागत विकाससँगै जिल्लामा तेक्वान्दो खेलको स्तरलाई थप उचाइमा पुर्याउने हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष कार्कीले भन्नुभयो, “आगामी दिनमा खेलाडी तथा प्रशिक्षकलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।”
बैठकमा जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकले संघको आगामी कार्यदिशा, सांगठनिक सुदृढीकरण, आर्थिक पारदर्शिता तथा खेलकुद गतिविधिलाई प्रभावकारी बनाउँदै सिन्धुपाल्चोकमा तेक्वान्दो खेलको विकास र विस्तारमा थप योगदान गर्ने प्रतिबद्धता जनाएको छ।
