Breaking
Tue. Aug 25th, 2026

विद्यार्थीलाई ट्राफिक नियमबारे सचेत गराउँदै सिन्धुपाल्चोक ट्राफिक प्रहरी

सुनकोशी समाचार
सिन्धुपाल्चोक । सडक दुर्घटना न्यूनीकरण तथा विद्यार्थीमा ट्राफिक नियमसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुपाल्चोक ट्राफिक प्रहरीले विद्यालयस्तरीय ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

सुनकोशी गाउँपालिका–६, थुमपाखरस्थित श्री महेन्द्रोदय माध्यमिक विद्यालयमा शुक्रबार विद्यार्थीहरूलाई लक्षित गरी ट्राफिक नियम, सडक सुरक्षा तथा सुरक्षित यात्रा सम्बन्धमा सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको हो।
विद्यालयमा अध्ययनरत छात्र–छात्राहरूलाई सडकमा हिँड्दा अपनाउनुपर्ने सावधानी, सडक पार गर्ने सही तरिका, सवारीसाधनमा यात्रा गर्दा पालना गर्नुपर्ने नियम, हेल्मेट तथा सिट बेल्टको प्रयोग, तीव्र गतिका कारण हुने जोखिमलगायतका विषयमा प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई सानै उमेरदेखि ट्राफिक नियमप्रति जिम्मेवार बनाउँदै उनीहरूमार्फत परिवार तथा समुदायमा समेत सडक सुरक्षा सम्बन्धी सकारात्मक सन्देश प्रवाह गराउनु रहेको बताइएको छ।
जिल्ला ट्राफिक प्रमुख रामकुमार थापाका अनुसार, सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भएकाले विद्यालय तहदेखि नै विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे सचेत गराउन आवश्यक छ। विद्यार्थीहरू सचेत भएमा उनीहरूले आफू सुरक्षित हुनुका साथै अभिभावक र समुदायलाई समेत ट्राफिक नियम पालना गर्न प्रेरित गर्न सक्ने उनको भनाइ छ।
सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सिन्धुपाल्चोक ट्राफिक प्रहरीले जिल्लाका विभिन्न विद्यालय तथा सार्वजनिक स्थानमा ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
विद्यालय तहमा सञ्चालन हुने यस्ता कार्यक्रमले विद्यार्थीमा सडक अनुशासनको विकास गर्नुका साथै सुरक्षित र जिम्मेवार नागरिक निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *