Breaking
Wed. Jun 10th, 2026

बाह्रबिसे नगरवासीलाई काठमाडौं मेडिकल कलेजमा उपचारमा ५० प्रतिशतसम्म छुट

सुनकोशी समाचार
सिन्धुपाल्चोक, जेठ २६— सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र काठमाडौं मेडिकल कलेज बीच नगरवासीलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले महत्वपूर्ण सम्झौता भएको छ। सम्झौताअनुसार बाह्रबिसे नगरपालिकाका नागरिकहरूले काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्।

नगर प्रमुखका सचिवालयका राजकुमार बस्नेत का अनुसार २०८३ साल असार ३० गतेसम्म उपचार सेवामा अधिकतम ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ भने २०८३ साल साउन १ गतेदेखि चैत ३० गतेसम्म २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
सम्झौताअनुसार बिरामीहरूले ओपीडी दर्ता निःशुल्क सेवा प्राप्त गर्नेछन्। साथै सामान्य बेड शुल्कमा २५ प्रतिशत, क्याबिन शुल्कमा १० प्रतिशत तथा आईसीयू, एचडीयू, सीसीयू, अपरेशन थिएटर सेवा शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिनेछ।

त्यस्तै ल्याब परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्स–रे, अल्ट्रासाउन्ड, डेन्टल एक्स–रे, ओपीजी, ईसीजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, इको, टीएमटी, होल्टर, एबीपीएम, ईईजी, एनसीटी, एनएसटी लगायत विभिन्न डायग्नोस्टिक सेवाहरूमा समेत २५ प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ। फिजियोथेरापी, डेन्टल उपचार (सामग्री खर्च बाहेक), ईआरसीपी तथा एमआरसीपी सेवामा पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
सम्झौतामा सामाजिक सुरक्षा कोष तथा स्वास्थ्य बीमामा आबद्ध बिरामीलाई प्राथमिकताका साथ सेवा प्रदान गर्ने उल्लेख गरिएको छ। स्वास्थ्य बीमा वा अन्य सरकारी स्वास्थ्य कार्यक्रमबाट प्राप्त सुविधा उपयोग गरिसकेपछि मात्रै सम्झौताअनुसारको थप सहुलियत उपलब्ध हुने व्यवस्था गरिएको छ।
नगर प्रमुख बालकृष्ण बस्नेत का अनुसार सम्झौता २०८३ साल असार १ गतेदेखि लागू भई २०८४ साल असार ३० गतेसम्म प्रभावकारी रहनेछ। आवश्यकता र प्रभावकारिताका आधारमा दुवै पक्षको सहमतिमा सम्झौता नवीकरण तथा परिमार्जन गर्न सकिने व्यवस्था पनि राखिएको छ।
वडा नं. ८ का अध्यक्ष बिमल पौडेल र वडा नं. ३ का अध्यक्ष जीवन भण्डारी समेतको सहभागितामा सम्पन्न भएको उक्त सम्झौताले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने, उपचार खर्चमा राहत पुर्‍याउने तथा स्वास्थ्य क्षेत्रमा नगरपालिकाले गरेको प्रतिबद्धतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
नगर प्रमुख बालकृष्ण बस्नेतले “स्वस्थ नागरिक, समृद्ध बाह्रबिसे” निर्माण अभियानअन्तर्गत यो सम्झौता नगरवासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसबाट हजारौं नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *