सुनकोशी समाचार
चौतारा जेठ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नेतृत्व चयनसम्बन्धी विवादका कारण पुनः स्थगित भएको छ। शनिबारदेखि सुरु भएको अधिवेशन आइतबार पनि निष्कर्षमा पुग्न नसकेपछि जिल्ला नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ।
सिन्धुपाल्चोकको सुकुटेमा सुरु भएको अधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेलगत्तै विवाद उत्पन्न भएपछि शनिबार स्थगित गरिएको थियो। विवाद समाधान गर्दै निर्वाचन सम्पन्न गराउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले आइतबार मधुकुमार चौलागाईंको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति खटाएको थियो।
तर निर्वाचन प्रक्रिया अघि बढाउने क्रममा मतदान तथा बन्दसत्र सञ्चालन गर्ने स्थललाई लिएर नयाँ विवाद देखिएको बताइएको छ। एक पक्षले बन्दसत्रको बाँकी प्रक्रिया मेलम्चीमा सञ्चालन गर्ने भन्दै प्रतिनिधिहरूलाई त्यहाँ जान आग्रह गरेपछि केही प्रतिनिधि मेलम्चीतर्फ प्रस्थान गरेका थिए। त्यसैबीच केन्द्रीय समितिले निर्वाचनका बाँकी गतिविधि जिल्ला सदरमुकाम चौतारामा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेपछि थप अन्योल सिर्जना भएको हो।
स्थलसम्बन्धी विवादका कारण प्रतिनिधिहरूबीच समन्वय हुन नसक्दा निर्वाचन प्रक्रिया प्रभावित बनेको र अधिवेशनले अपेक्षित निष्कर्ष निकाल्न नसकेको एक प्रतिनिधिले बताएका छन्।
जिल्ला नेतृत्व चयनका लागि भइरहेको प्रतिस्पर्धामा देखिएको आन्तरिक मतभेद र व्यवस्थापकीय विवादले रास्वपाको संगठनात्मक प्रक्रियामाथि प्रश्न उठाएको छ। विवाद समाधान गरी अधिवेशन कहिले सम्पन्न गरिने भन्ने विषयमा पार्टीको केन्द्रीय नेतृत्वले औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन।
रास्वपाले देशभर संगठन विस्तार र आन्तरिक संरचना निर्माणलाई तीव्रता दिइरहेका बेला सिन्धुपाल्चोकमा देखिएको यो विवादलाई पार्टीको आन्तरिक व्यवस्थापन र नेतृत्व चयन प्रक्रियासँग जोडेर चासोका साथ हेरिएको छ।
रास्वपा सिन्धुपाल्चोक अधिवेशन पुनः स्थगित, नेतृत्व चयनमा विवादले निर्वाचन अन्योलमा
