Breaking
Sat. Jan 17th, 2026

सिन्धुपाल्चोकमा डिएसपीद्वारा भान्छे कुटपिट र वर्खास्त: पीडितको न्यायका लागि संघर्ष

सुनकोशी समाचार

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलमाथि आफ्नै क्वाटरमा काम गर्ने भान्छे शंकर कार्कीलाई कुटपिट गरी जागिरबाट वर्खास्त गराएको आरोप लागेको छ । पीडित कार्की हाल मिडिया र मानवअधिकारकर्मीहरूमार्फत न्यायको खोजीमा छन् ।

घटना कसरी भयो?
पीडितका अनुसार, २०८२ साउन २२ गते दिउँसो करिब २ बजे डिएसपी खरेल क्वाटरमा लन्चका लागि पुगेका थिए । त्यसअघि भान्छे कार्कीले तीन जना प्रहरी निरीक्षकलाई खाना खुवाइसकेका थिए। डिएसपीका लागि भने लसुन–प्याज प्रयोग नगरी फरक भाँडाकुडा प्रयोग गरेर रोटी–तरकारी तयार गरिएको थियो।
तर, डिएसपी खरेलले बिहान ४ बजे बनाइएको बासी रोटी खान नमिल्ने भन्दै अपशब्द प्रयोग गरेका र कार्कीलाई दुई मुक्का हानेका पीडितको दाबी छ। कार्कीका अनुसार, आत्मरक्षाका क्रममा तेस्रो मुक्का रोक्ने प्रयास गर्दा ट्रे फुटेर डिएसपीको काँधमा चोट लागेको थियो। त्यसपछि डिएसपी झन् आक्रोशमा आएर आफूलाई ‘पशु झैँ’ कुटपिट गरेको कार्की बताउँछन् ।
घटनापछि भाँडा माझिरहेको अवस्थामा प्रहरी निरीक्षक रुपेश शाह आएर थप कुटपिट गर्दै उनलाई हिरासतमा पु¥याएको कार्कीको भनाइ छ ।

परिवारको पीडा र वर्खास्ती
साउन २३ गते कार्की घरमा आमाको मासिक श्राद्धका लागि जाने तयारीमा थिए। तर घर नपुगेपछि परिवारले खोजतलास सुरु गरेको बताइएको छ। परिवारका अनुसार, अचेत हुने गरी कुटपिट गरेपछि विभागीय कारबाहीको नाममा उनलाई परिवार वा आफन्तलाई भेट्न नदिई जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणका लागि मात्र लगिएको थियो ।
रिपोर्टमा बाहिरी चोटपटक नदेखिए पनि टाउको झमझम गर्ने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिएको कार्कीको भनाइ छ । साउन २६ गते प्रहरी कार्यालयमा छलफल हुने तय भए पनि, सो दिन बिहान १० बजे नै कार्कीलाई ‘अनुशासनहीन कार्य’को आरोपमा वर्खास्त पत्र थमाइएको थियो ।

पीडित पक्षको माग
कार्कीले आफू निर्दोष रहेको र घटनाको सत्यता बुझ्नका लागि सीसीटीभी फुटेज जाँच गर्न माग गरेका छन्। पीडितका भाउजु सपना कार्की र आफन्त खिल कुमारी कार्कीले पनि निष्पक्ष छानबिन र कानूनी कारबाहीको माग गर्दै आवाज उठाएका छन् ।

प्रहरी प्रवक्ताको प्रतिक्रिया
डिएसपी माधव राज खरेलले यो विभागीय कारबाही भएकाले केही भन्न नमिल्ने भन्दै प्रतिक्रिया दिनबाट पन्छिएका छन्। फोन सम्पर्कमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले भने घटनाबारे केन्द्रीय कार्यालयलाई जानकारी नभएको र जिल्ला स्तरमै जवाफ दिनुपर्ने बताए। भदौ १ गतेको पत्रकार सम्मेलनमा प्रतिक्रिया दिने बताएका खरेलले हालसम्म अन्य विवरण सार्वजनिक गरेका छैनन् । उनले यो विभागिय कारबाहि भएको बताए तर पिडित आफुले त्यस्तो कुनै काम नगरेको बताउछन् ।
पीडित परिवारले घटनालाई सत्ता र पदको आडमा ढाकछोप गर्न नदिन आग्रह गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन्। उनीहरूको भनाइमा, प्रहरी संगठनमै काम गर्ने एक सामान्य कर्मचारीले यस्ता घटनामा न्याय पाउनु कठिन भएको देखिएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *