Breaking
Wed. Dec 10th, 2025

बाह्रविसेमा गर्भवती र सुत्केरी महिलालाई पोषण सुधारका लागि उन्नत जातको बाख्रा वितरण

कुमार बस्नेत (अधिराज)
सुनकोशी समाचार
बाह्रविसे – बाह्रविसे नगरपालिकाले ‘सुनौला हजार दिन’ कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषण सुधारका लागि उन्नत जातको बोयर बाख्रा वितरण गरेको छ। नगरपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत हालै सम्पन्न कार्यक्रममा ५८ ओटा बाख्रा वितरण गरिएको हो।

दलित र जनजाति समुदायलाई प्राथमिकता दिइएको कार्यक्रममा बढी संख्यामा दलित महिलाहरूको सहभागिता रहेको छ। बाह्रविसे स्वास्थ्य चौकीका सूचना अधिकारी जितेन्द्र राउतका अनुसार, पोषण सुधारसँगै आर्थिक आत्मनिर्भरतातर्फ समेत यो कदम महत्वपूर्ण मानिएको छ।

नगर प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यमा बाह्रविसे वडा नं. ३ स्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा उहाँले बाह्रविसे नगरपालिकालाई २०८३ सालभित्र पोषणमैत्री र बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य रहेको बताउँदै, यस्ता कार्यक्रमहरूले सो लक्ष्य हासिल गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

बाख्राको बीमा पनि समूहकै कोषबाट हुने व्यवस्था गरिएको जानकारी दिँदै, बस्नेतले दीर्घकालीन प्रभावका लागि यस्ता कार्यक्रमलाई थप विस्तार गरिने बताउनु भयो।

कार्यक्रमका सभापति तथा वडा नं. ३ का अध्यक्ष जीवनकुमार भण्डारीले वडालाई चाँडै बालमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको बताउदै। उहाँले हाल वडामा घरमै सुत्केरी हुने महिलाको संख्या शून्य रहेको, सबैजना बर्थिङ सेन्टरमै सुत्केरी हुनेतर्फ उन्मुख भएकामा खुसी व्यक्त गर्दै, स्वास्थ्य र पोषणमा भएको सुधारलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाउनु भयो।

कार्यक्रममा उपप्रमुख मञ्जु तामाङ, स्वास्थ्य शाखा प्रमुख सीता माया दाहाल, जनस्वास्थ्य निरीक्षक राजकुमार पौडेल, पोषण सहजकर्ता सुलोचना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

यस कार्यक्रमले पोषण तथा स्वास्थ्यको संवेदनशील विषयलाई सामुदायिक तहमा प्रभावकारी रुपमा कार्यान्वयन गर्दै, सामाजिक न्याय र समावेशी विकासको सन्देश दिएको स्थानीयले प्रतिक्रिया दिएका छन्।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *