Breaking
Fri. Oct 23rd, 2026

चाडपर्व लक्षित सडक सुरक्षा अभियान: खाडीचौर–जिरी सडकखण्डको ठुलोपाखरमा होल्डिङ सेन्टर स्थापना

सुनकोशी समाचार

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम सञ्चालन
सिन्धुपाल्चोक। चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्दै यात्रुहरूलाई सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले सिन्धुपाल्चोकको खाडीचौर–जिरी सडकखण्डअन्तर्गत ठुलोपाखर क्षेत्रमा होल्डिङ सेन्टर स्थापना गरी ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने र चालकको लापरबाहीका कारण दुर्घटनाको जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित वडा तथा पालिकाहरूसँगको सहकार्यमा सडक सुरक्षा अभियान सञ्चालन गरेको हो।

होल्डिङ सेन्टरमा रोकिएका सवारीसाधनका चालक, सहचालक तथा यात्रुहरूलाई सुरक्षित यात्राका विषयमा सम्झाई–बुझाई गर्दै ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको छ। अभियानका क्रममा चालक तथा सहचालकलाई तीव्र गति र लापरबाहीपूर्वक सवारी नचलाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नराख्न, लामो दूरीको यात्रा गर्दा आवश्यक आराम गर्न तथा सवारीसाधनको अवस्था दुरुस्त राख्न सचेत गराइएको छ।

त्यसैगरी, बजार क्षेत्रमा ट्राफिक जनचेतनामूलक गीत, सवारीसाधनको सिग्नल तथा माइकिङमार्फत सुरक्षित यात्रासम्बन्धी सन्देश प्रवाह गरिएको छ। यात्रुहरूलाई पनि सवारीसाधनमा यात्रा गर्दा सावधानी अपनाउन, चालकलाई ट्राफिक नियम पालना गर्न प्रेरित गर्न तथा जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरिएको छ।

सिन्धुपाल्चोक ट्राफिक प्रहरी प्रमुख रामकुमार थापाका अनुसार चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण, यात्रुहरूलाई सुरक्षित यात्राप्रति सचेत बनाउने र सडक सुरक्षा तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

सम्बन्धित स्थानीय तह तथा वडाहरूसँगको सहकार्यमा सञ्चालन गरिएको अभियानले सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै चाडपर्वको समयमा हुन सक्ने दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चाडपर्वलाई सुरक्षित, व्यवस्थित र दुर्घटनामुक्त बनाउन चालक, सहचालक, यात्रु तथा आम नागरिक सबैले ट्राफिक नियमको पूर्ण पालना गर्नु आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *