सुनकोशी समाचार
सिन्धुपाल्चोक। सुनकोशी गाउँपालिकाले दशैँअघि बस सञ्चालन हुने मुख्य सडकहरू सफा गर्ने र त्यसपछि शाखा सडकहरूको सफाइ गर्ने बताए पनि सुनकोशी गाउँपालिका–४ र ५ अन्तर्गतका सडकमा बस सञ्चालन गर्न असहज भएको गुनासो बढेको छ।
यमुना डाँडा, सुनखानी, सिल्कु हुँदै बाखोर जाने सडकमा आवश्यक सफाइ नहुँदा बस सञ्चालनमा समस्या भइरहेको स्थानीयको गुनासो छ। दशैँअघि बस चल्ने मेन सडक सफा गर्ने भनिए पनि उक्त सडकमा सहज रूपमा बस सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ।
दशैँजस्तो चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले सडकको उचित व्यवस्थापन र सफाइ आवश्यक हुन्छ। तर, सम्बन्धित सडकमा समयमै सफाइ नहुँदा स्थानीयवासी तथा यात्रुले सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।
स्थानीयवासीले गाउँपालिकालाई उक्त सडकको अवस्थाबारे ध्यान दिन र तत्काल सफाइ गरी बस सञ्चालन सहज बनाउन माग गरेका छन्।
अब प्रश्न उठेको छ—दशैँअघि सडक सफा गर्ने भनिएको योजना कार्यान्वयन किन हुन सकेन? सम्बन्धित निकायले यस विषयमा ध्यान दिई यात्रुलाई सहज आवागमनको व्यवस्था गर्न आवश्यक देखिन्छ।
