कुमार बस्नेत(अधिराज)
सुनकोशी समाचार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सिन्धुपाल्चोक कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंको तीनकुनेमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।
तीनकुनेस्थित सम्पर्क कार्यालयको बिहीबार पूर्वमन्त्री तथा कांग्रेस नेता मोहनबहादुर बस्नेतले उद्घाटन गरेका हुन्। कार्यालय उद्घाटनसँगै सिन्धुपाल्चोकमा १५औँ महाधिवेशन केन्द्रित गतिविधिलाई काठमाडौंमा रहेका नेता तथा कार्यकर्तासँग समन्वय गरी अघि बढाउने तयारी गरिएको छ।
समूहका जिल्ला संयोजक लालकाजी तामाङका अनुसार अब तीनकुनेस्थित सम्पर्क कार्यालयबाट महाधिवेशनको तयारी, जिल्लाका नेता–कार्यकर्तासँग समन्वय तथा वडा तहदेखि महाधिवेशनसम्मका संगठनात्मक गतिविधि सञ्चालन गरिनेछ।
समूहले आफ्नो छुट्टै कार्यतालिकाअनुसार असोज १६ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको जनाएको छ। वडा अधिवेशनसँगै जिल्लामा महाधिवेशनका लागि आवश्यक संगठनात्मक प्रक्रिया अघि बढाउने तयारी रहेको तामाङले बताए।
सिन्धुपाल्चोकमा कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर विभिन्न समूहले आ–आफ्ना गतिविधि अघि बढाइरहेका छन्। यसअघि सार्वजनिक विवरणअनुसार तामाङलाई सिन्धुपाल्चोकमा महाधिवेशन तयारीको संयोजनको जिम्मेवारी दिइएको छ।
तीनकुनेमा सम्पर्क कार्यालय स्थापना भएपछि जिल्लाबाहिर, विशेषगरी काठमाडौंमा रहेका नेता तथा कार्यकर्तासँग नियमित समन्वय गर्दै महाधिवेशन केन्द्रित गतिविधिलाई थप व्यवस्थित बनाउने समूहको तयारी छ।
यससँगै सिन्धुपाल्चोक कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी गतिविधि जिल्लामा मात्र सीमित नरही काठमाडौंलाई समेत केन्द्र बनाएर अघि बढ्ने भएको छ।
