सुनकोशी समाचार
काठमाडौं, असार १४ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि तीव्र हुने पूर्वानुमान रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। देशका अधिकांश पहाडी तथा तराई क्षेत्र तथा केही हिमाली क्षेत्रमा मध्यम वर्षाको समेत पूर्वानुमान गरिएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा लगातारको वर्षाका कारण आकस्मिक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

खोला तथा खहरे आसपास यात्रा गर्ने, पहिरोको जोखिम भएका बस्तीमा बसोबास गर्ने तथा नदी किनारका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा जान र सुरक्षित स्थानको जानकारी पूर्वतयारीका रूपमा राख्न पनि अनुरोध गरिएको छ।
प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह तथा स्वयंसेवकसहित सम्बन्धित सबै निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। साथै जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि भनिएको छ।
प्राधिकरणले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता ११४९, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर आवश्यक पर्दा प्रयोग गर्न अनुरोध गरेको छ।
साथै जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा पालना गर्न सबै नागरिकलाई आग्रह गरिएको छ।
असार १६–१७ मा मनसुनी गतिविधि तीव्र हुने, भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन प्राधिकरणको आग्रह
