सुनकोशी समाचार
सुनकोशी सिन्धुपाल्चोक, असार ८। विगतका वर्षहरूमा बजेट तथा नीति–कार्यक्रम समयमै ल्याउन नसकेको भन्दै आलोचना खेप्दै आएको सुनकोशी गाउँपालिकाले यस वर्ष भने उल्लेखनीय सुधारको संकेत दिएको छ। संविधानले तोकेको समयसीमाभन्दा अगावै आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट गाउँसभाबाट पारित गर्दै गाउँपालिकाले जिम्मेवार स्थानीय सरकारको परिचय दिएको हो।

गाउँपालिकाको आठौँ गाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष कान्छी लामाले बजेट पेश गर्नुभएको थियो।
पारित बजेटअनुसार चालु खर्चतर्फ ३८ करोड ५६ लाख रुपैयाँ तथा पूँजीगत खर्चतर्फ १९ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ। संघीय सरकारको अनुदान, प्रदेश सरकारको सहयोग, आन्तरिक आय तथा अन्य स्रोतलाई आधार बनाएर बजेट निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

यस वर्ष सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा पहिले नीति, कार्यक्रम र बजेट पारित गर्ने स्थानीय तह बनेको छ। स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको वर्तमान कार्यकालको अन्तिम बजेटसमेत भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ।

गाउँपालिका अध्यक्ष तिमल्सिनाले समयअघि नै बजेट पारित हुनु जनप्रतिनिधि, गाउँसभा सदस्य तथा कर्मचारीहरूको सामूहिक प्रयासको परिणाम भएको बताउनुभयो। उहाँले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी नागरिकको जीवनस्तर उकास्ने योजनाहरू आगामी वर्ष कार्यान्वयन गरिने जानकारी दिनुभयो।
“सुन्दर सुनकोशी, समृद्ध सुनकोशी र खुसी सुनकोशी” भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राख्दै विकास, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बजेट तथा कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ।
समयमै बजेट पारित गर्न नसकेको विगतको छवि सुधार्दै सुनकोशी गाउँपालिकाले यसपटक योजनाबद्ध, उत्तरदायी र परिणाममुखी स्थानीय सरकारको उदाहरण प्रस्तुत गरेको भन्दै स्थानीय सरोकारवालाहरूले प्रशंसा गरेका छन्।
