Breaking
Sun. May 24th, 2026

समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

सुनकोशी समाचार

सुनकोशी-
महावीर पुन का आविष्कार र आत्मकथासम्बन्धी पुस्तकहरू सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका अन्तर्गतका चार विद्यालयमा वितरण गरिएको छ।
सुनकोशी गाउँपालिका–५ स्थित बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्था को पहलमा वडा नं. १ को बाघ भैरव माध्यमिक विद्यालय, वडा नं. ४ को गणेश माध्यमिक विद्यालय तथा वडा नं. ५ का भुमेश्वरी माध्यमिक विद्यालय र रतनकोट आधारभूत विद्यालय मा पुस्तक वितरण गरिएको हो।

संस्थाका अध्यक्ष कुमार बस्नेत ले पुस्तक वितरण कार्यक्रममार्फत विद्यार्थीहरूमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनप्रति रुचि जगाउने उद्देश्य रहेको जानकारी दिनुभयो।
उक्त पुस्तक खरिदका लागि आवश्यक आर्थिक सहयोग सुनकोशी गाउँपालिका–५ सुनखानी निवासी समाजसेवी व्यक्तित्व रत्नबहादुर खड्का का कान्छा सुपुत्र तथा हाल अष्ट्रेलियामा वकील पेशामा आबद्ध एवं गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका सचिव कल्याण खड्काले व्यवस्थापन गर्नुभएको हो।शैक्षिक गुणस्तर राम्रो बनाउन आर्थिक भौतिक तथा सामाजिक सहयोगहरू पहिल्यैदेखि गर्दै आउनु भएको छ र गरि रहने पनि खड्काले ताउनु भएको छ।

आविष्कार केन्द्रबाट विद्यालयसम्म पुस्तक ढुवानी तथा अन्य व्यवस्थापन खर्च भने बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्थाले व्यहोरेको जनाएको छ।
कार्यक्रमका क्रममा बाघ भैरव माध्यमिक विद्यालयमा वडा नं. १ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार शाही, प्रधानाध्यापक हिक्मत खत्री लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी भुमेश्वरी माध्यमिक विद्यालयमा प्रधानाध्यापक तुला बहादुर लामा सहित विद्यालय परिवारको सहभागिता रहेको थियो भने गणेश माध्यमिक विद्यालयमा प्रधानाध्यापक साङदोर्जे लामा सहित शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा अध्यक्ष कुमार बस्नेतले सबै विद्यालयमा पुगेर विद्यार्थी तथा शिक्षकहरूसँग शिक्षाको गुणस्तर, अध्ययनको महत्व र भविष्य निर्माणका विषयमा अन्तरक्रिया समेत गर्नुभएको थियो। अन्तरक्रियाका क्रममा कक्षा १० का विद्यार्थीहरूले SEE परीक्षाको तयारीका लागि टेनसेट, ज्यामिति बक्स, क्यालकुलेटर लगायत आवश्यक शैक्षिक सामग्रीको माग गरेका थिए। त्यस अवसरमा अध्यक्ष बस्नेतले विद्यार्थीहरूको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा सहभागी विद्यालयका प्रधानाध्यापकहरू तथा वडा अध्यक्ष कुमार शाहीले समाजसेवी कल्याण खड्का र कुमार बस्नेतप्रति आभार व्यक्त गर्दै यस्ता शैक्षिक तथा प्रेरणादायी कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरेका थिए।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *