कुमार बस्नेत(अधिराज)
सुनकोशी समाचार
सिड्नी (अष्ट्रेलिया), साउन १२ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा कल्याण खड्का सचिव पदमा विजयी हुनु भएको छ।
गत शनिबार सम्पन्न निर्वाचनमा खड्काले ७,१८० मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी गणेशराज गौतमलाई पराजित गर्नु भएको हो। गौतमले ४,५२८ मत प्राप्त गर्नु भएको थियो।
यसअघि सन् २०२२ देखि २०२५ सम्म एनआरएनए अष्ट्रेलियाको राज्य सचिवको रूपमा काम गरिसकेका खड्का यसपटक सन्तोष कुँवर नेतृत्वको टिमबाट सचिव पदका उम्मेदवार बन्नु भएको हो।
पेशाले वकिलसमेत रहेका खड्काले निर्वाचनअघि प्रस्तुत गरेका एजेन्डाहरू कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउँदै नयाँ कार्यसमितिसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ।मतदातासँग गरिएका सबै प्रतिबद्धता इमान्दारिताका साथ पूरा गर्नेछु उहाँले भन्नु भयो।
सचिवमा निर्वाचित भएपछि खड्काले सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै एनआरएन अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ।
