सुनकोशी समाचार
सिन्धुपाल्चोक। प्रहरी चौकी लामोसाँघुले अवैध रूपमा पटका किनबेच गर्ने व्यापारीमाथि निगरानी बढाउँदै बिक्रीका लागि राखिएका पटका नियन्त्रणमा लिएको छ।
चाडपर्व तथा विभिन्न अवसरमा हुन सक्ने सम्भावित दुर्घटना, आगलागी तथा ध्वनि प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले बजार क्षेत्रमा चेकजाँच तथा अनुगमनलाई तीव्र बनाएको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बजार क्षेत्रमा अनुगमन गर्ने क्रममा अवैध रूपमा बिक्रीका लागि राखिएका पटका बरामद गरेको जनाएको छ।
प्रशासनले पटका प्रयोग तथा किनबेचमा प्रतिबन्ध लगाएको भन्दै कानुनविपरीत यसको कारोबार गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरी चौकी लामोसाँघुले जनाएको छ।
प्रहरीको सक्रियताले सम्भावित दुर्घटना, आगलागी र ध्वनि प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ। अवैध पटका कारोबार नियन्त्रणका लागि प्रहरीले थालेको कदमलाई स्थानीय बासिन्दाले सकारात्मक रूपमा लिएका छन्।
