सुनकोसी समाचार
बलेफि । ३७औँ अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ मा आयोजित बालबालिकाको खेलकुद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
बलेफी गाउँपालिका–६ वडा बाल अधिकार समितिको आयोजना तथा सिविस संस्थाको समन्वयमा कुपकन्यामा आयोजित कार्यक्रममा सातकन्या आधारभूत विद्यालय जालबारी,बेत्रवति आधारभूत विद्यालय बन्दर्वा,सुन्दरा देवि आधारभूत बिद्यालय बुवासे र कुपकन्या मा विका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
बालबालिकाको प्रतिभा प्रस्फुटन, खेलकुदप्रतिको रुचि अभिवृद्धि तथा आपसी सद्भाव र सहकार्यको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा भलिबल, कपडी लगायत विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगिताअन्तर्गत भलिबलतर्फ सातकन्या आधारभूत विद्यालय प्रथम हुन सफल भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, विशेष अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष सरु लामा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता बलेफी–६ का वडा अध्यक्ष तेजबहादुर पराजुलीले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले बालबालिका राष्ट्रका भविष्यका कर्णधार भएकाले उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र सर्वाङ्गीण विकासमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले बालबालिकाको प्रतिभा पहिचान र क्षमता विकासका लागि खेलकुद तथा सिर्जनात्मक कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी विशेष अतिथि उपाध्यक्ष सरु लामाले बाल अधिकारको संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै बालबालिकालाई किताबी ज्ञानसँगै खेलकुद, अनुशासन र व्यावहारिक ज्ञानमा पनि अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले बालबालिकाको क्षमता र प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमले उनीहरूको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा वडा अध्यक्ष तेजबहादुर पराजुलीले बालबालिकाको हक, अधिकार र उज्ज्वल भविष्य सुनिश्चित गर्न वडा निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बालबालिकालाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नुका साथै उनीहरूलाई सकारात्मक र सिर्जनशील गतिविधिमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो।
कार्यक्रममा प्रतियोगितामा प्रथम हुने खेलाडी तथा सहभागीहरूलाई ट्रफी, मेडललगायत पुरस्कार प्रदान गरिएको थियो। साथै वडाभित्र रहेर विभिन्न सामाजिक कार्यमा योगदान पुर्याउँदै आएका सामाजिक व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।
विभिन्न संघसंस्थाका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, स्थानीय अगुवा, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमले बालबालिकामा खेलकुदप्रतिको उत्साह बढाउनुका साथै सामाजिक एकता र सहकार्यको सन्देश दिएको आयोजकले जनाएको छ।
बाल अधिकारको संरक्षण, बालमैत्री वातावरण निर्माण र बालबालिकाको सर्वाङ्गीण विकासमा स्थानीय तह, विद्यालय, संघसंस्था र समुदायबीचको सहकार्य आवश्यक रहेको सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।
