सुनकोशी समाचार
सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाका तेक्वान्दो खेलाडी बिराज भण्डारी आगामी मङ्सिर १५ देखि २० गतेसम्म सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि बागमती प्रदेशबाट छनोट हुन सफल भएका छन्।
गोठाटार तेक्वान्दो डोजाङका प्रशिक्षक तथा खेलाडीसमेत रहेका भण्डारीले ७४ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा प्रथम स्थान हासिल गरेका हुन्। प्रथम हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएपछि उनको सफलताले सिन्धुपाल्चोक जिल्लाको खेलकुद क्षेत्रमा उत्साह थपेको छ।
लिसङ्खुपाखर गाउँपालिका वडा नं. ६ निवासी भण्डारीले आफ्नो खेलयात्रा सिन्धुपाल्चोकबाटै सुरु गरेका हुन्। हाल उनी सिन्धुपाल्चोक तेक्वान्दोका पूर्वअध्यक्ष, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा एसियाली तेक्वान्दो संघका सदस्य प्रेमबहादुर भण्डारीको नेतृत्व तथा प्रशिक्षणसँग जोडिएको गोठाटार तेक्वान्दो डोजाङमा प्रशिक्षक र खेलाडीका रूपमा सक्रिय छन्।
नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशद्वारा आयोजित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि खेलाडी छनोट प्रतियोगिता २०८३ साल कार्तिक १७ गतेदेखि १९ गतेसम्म ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा सञ्चालन भएको थियो।
उक्त छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका बिराज भण्डारीले अब राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएका छन्।
सामान्य पारिवारिक तथा स्थानीय परिवेशबाट खेलयात्रा सुरु गरी निरन्तर मेहनत, अनुशासन र लगनशीलताका साथ प्रदेशस्तरमा प्रथम स्थान हासिल गर्न सफल भण्डारीको यो उपलब्धिलाई सिन्धुपाल्चोकका लागि गौरवको विषयका रूपमा हेरिएको छ।
आगामी मङ्सिरमा सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल हुने र राष्ट्रिय स्तरमा सिन्धुपाल्चोक जिल्लाको नाम उच्च राख्ने अपेक्षा गरिएको छ।
