Breaking
Tue. Feb 10th, 2026

अग्निपीडितलाई समाजसेवी खड्काको सहयोग

सुनकोशी समाचार

सिन्धुपाल्चोक।
सुनकोशी गाउँपालिका वडा नं. ४ का पूर्व वडा अध्यक्ष तथा नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १, प्रदेश (ख) का सभापति देबिन्द्र खड्काले आगलागीबाट पीडित बनेका स्थानीय कृषकलाई सहयोग प्रदान गर्नुभएको छ।
सुनकोशी गाउँपालिका वडा नं. ४ निवासी बिनोद खड्काले सञ्चालन गर्दै आउनुभएको कुखुरा फर्ममा माघ १० गते राति आगलागी हुँदा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै समाजसेवी खड्काले करिब ४१ हजार रुपैयाँ बराबरको ५ बन्डल जस्ता, किला लगायतका सामग्री सहयोग गर्नुभएको हो।
पीडित बिनोद खड्काका अनुसार आगलागी राति कसरी र कहिले सुरु भयो भन्ने यकिन हुन नसके पनि राति करिब १ बजे मात्र थाहा पाउँदा ५०० कुखुरा रहेको जस्ताको टहरो पूर्ण रूपमा जलेर नष्ट भइसकेको थियो। समयमै प्रयास गर्दा केही कुखुरा तथा अन्य सामग्री जोगाउन सफल भए पनि कुखुरा, टहरो, भुस र दाना गरी १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको उहाँले जानकारी दिनुभयो।
स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै आएको कुखुरा फर्ममा भएको यस आगलागीले कृषक परिवारलाई गम्भीर आर्थिक असर पारेको छ। समाजसेवी देबिन्द्र खड्काले पीडित परिवारलाई आवश्यक थप सहयोगका लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई समेत पहल गर्न आग्रह गर्नुभएको छ।
स्थानीयवासीहरूले कठिन समयमा गरिएको सहयोगप्रति खड्काको प्रशंसा गर्दै पीडित कृषकलाई राहत तथा पुनःस्थापनाका लागि राज्यका निकायहरूले ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *