सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
सुनकोशी मंसिर -२३ — कालिकामाई मन्दिर संरक्षण समिति, सुनकोशी गाउँपालिका–३ कालीकाद्वारा आयोजित प्राण–प्रतिष्ठा पूजा, पदमार्ग उद्घाटन तथा सम्मान–अभिनन्दन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा पूर्वमन्त्री मोहन बहादुर बस्नेत प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता कालिका मन्दिर संरक्षण समितिका अध्यक्ष सूर्य बहादुर कार्कीले गर्नु भएको थियो।
कार्यक्रममा सुनकोशी गाउँपालिका उपाध्यक्ष कान्छी लामा, सुनकोशी–३ का वडा अध्यक्ष ईश्वर तामाङ, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले मन्दिर क्षेत्रको संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन र सांस्कृतिक पहिचान विस्तारमा यस्तो कार्यक्रम ऐतिहासिक महत्त्वको भएको बताएका छन्।
मन्दिरको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै स्थानीय वयोवृद्ध नारायण प्रसाद पौडेलले झन्डै १०० वर्षभन्दा पुरानो घण्टा १९६१ सालमा भेटिएको उल्लेख गर्दै मन्दिरको उत्पत्तिको समय भने यकिन हुन बाँकी रहेको बताउनु भयो। उहाँका अनुसार मन्दिर क्षेत्र धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपले निकै महत्वपूर्ण रहेकाले यसको संरक्षण र पूर्वाधार विकास आवश्यक छ।
समारोहका प्रमुख अतिथि पूर्वमन्त्री बस्नेतले धार्मिक सम्पदाको संरक्षण र स्थानीय पर्यटन विकासका लागि सरकारी तथा सामुदायिक सहकार्य अनिवार्य रहेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।
कार्यक्रमको अन्त्यमा पदमार्ग उद्घाटनसँगै सहयोगकर्ताहरूलाई सम्मान तथा अभिनन्दन गरिएको थियो। आयोजनाले मन्दिर परिसरलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउँदै धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।
