Breaking
Sat. Jan 17th, 2026

तल्लो बलेफी जलविद्युत आयोजनामा अनिश्चितकालीन काम बन्द : प्रभावित स्थानीयको माग बेवास्ता गरेको आरोप

सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज)
चौतारा, मंसिर २२
तल्लो बलेफी जलविद्युत आयोजना (साझा पावर कम्पनी लि.) ले स्थानीय प्रभावित बासिन्दाका मागलाई पटक–पटक बेवास्ता गर्दै मनोमानी रूपमा आयोजना सञ्चालन गरेको आरोपसँगै स्थानीय बासिन्दाले अनिश्चितकालका लागि काम बन्द गराएका छन्। आन्दोलनको नेतृत्व गर्दै आएका स्थानीय अगुवा सुगम तामाङ ले माग सम्बोधन नभएसम्म निर्माण कार्य रोक्ने चेतावनी दिएका छन्।

फलामसाँघु (चौतारा साँगाचोकगढी–२) र टारी बजार (बलेफी–१) आसपासका प्रभावितले आयोजना सुरु भएदेखि नै उठाउँदै आएका मागहरू लत्याउदै आयोजनाले एक–दुई जना ठेकेदारसँग मिलेर आवश्यकता भन्दा बढी विस्फोट (ब्लास्ट) गरी जनजीवनमा असर पुर्‍याएको आरोप लगाउँदै आन्दोलन सुरु गरिएको बताइएको छ।

स्थानीयका अनुसार, बम–ब्लास्टिङका कारण घरहरू चर्किनु, सिंचाइ व्यवस्थामा बाधा, धुलो–धुवाँ, सडक क्षति, र सुरक्षा जोखिम बढ्दै गए पनि कम्पनीले न त स्थलगत क्षतिपूर्तिको काम गर्‍यो, न त पुराना सहमतिहरू कार्यान्वयन गर्‍यो।
मंसिर ७ गते आइतबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, चौतारा मा ज्ञापनपत्र बुझाए पनि प्रशासन र कम्पनी दुवैले गम्भीरतापूर्वक नलिएको स्थानीयको आरोप छ। त्यही दिन उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक साझा पावर कम्पनी लि. को साइड अफिस बलेफी–४, र इलाका प्रहरी कार्यालय जलविरेलाई समेत बोधार्थ बुझाएका थिए।

स्थानीयले पेश गरेका प्रमुख मागहरू

👉️मिति २०७८/११/२७ मा भएको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने।

👉️नौबिसे–रानीटार–खरीटार–बतासे–भोटेफुल्सिङ खण्डको सडक स्तरउन्नति र ढुङ्गानाडाँडा–भोटेफुल्पिङ रोडको १ किमी ढलान निर्माण।

👉️प्रभावित बासिन्दालाई १०% निःशुल्क सार्वजनिक सेयर उपलब्ध गरिनु पर्ने।

👉️ब्लास्टिङ हुने क्षेत्रबाट ५०० मिटरभित्रका सबै घरको बीमा गरी बीमा कागजात घरधनीलाई तत्काल उपलब्ध गराउनुपर्ने।

👉️खरीटार कालोढुंगा लिफ्ट सिंचाइदेखि खहरे खोला सम्म RCC पर्खाल निर्माण।

👉️खरीटार–रानीटार–कटुन्जे सम्मको लिफ्ट सिंचाइको वैकल्पिक व्यवस्था।

👉️ढुंगानाडाँडादेखि भोटेफुल्पिङ हुँदै जुगल–१ खसेसम्मको मोटरबाटो सुधार।

👉️बम–ब्लास्टिङ निश्चित समयमै मात्र गर्नुपर्ने र पूर्व–सूचना अनिवार्य गर्नुपर्ने।

👉️कम्पनी परिवर्तन हुनु अघि वेलकम इनर्जी कम्पनीले भुक्तानी गर्न बाँकी रकम साझा पावर कम्पनीले जिम्मेवारीपूर्वक उपलब्ध गराउनुपर्ने।

👉️प्रशासनिक तहमा पटक–पटक उजुरी, मागपत्र र ध्यानाकर्षण गराइएको भए पनि किन बेवास्ता गरिएको छ भन्ने विषयमा स्पष्ट जवाफ दिनुपर्ने।

सुगम तामाङका अनुसार, माग सम्बोधन नभएसम्म आयोजनाको सम्पूर्ण काम अनिश्चितकालका लागि बन्द हुने छ।
उनले भने, स्थानीयलाई दबाएर काम गराउने प्रवृत्ति रोकिनुपर्छ। सहमति कार्यान्वयन नभएसम्म निर्माण अघि बढ्न दिने छैनौं।
हाल आयोजनास्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ भने कम्पनी पक्षले भने यसबारे आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *