नेपालमा जलनको समस्या कति गम्भीर छ ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार बर्सेनि झन्डै ५७ हजार नेपाली जलनबाट प्रभावित हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यीमध्ये झन्डै दुई हजार एक सय जनाले ज्यानै गुमाउने गरेको छ । यही तथ्याङ्क काफी छ, जलनको समस्या कति गम्भीर छ भनेर बुझ्न ।
हामी धेरैलाई आगोले पोल्ने, करेन्ट लाग्ने, तातो झोल पदार्थले पोल्ने, विभिन्न रसायन जस्तै अम्ल (एसिड) तथा (अल्काली) ले पोल्ने जस्ता समस्या भइहालेमा तत्कालै के गर्ने भन्ने विषयमा अलमल छ । जलन हुनासाथ के गर्ने ?
विभिन्न दुर्घटनाले गर्दा जलन भइहालेमा तत्कालै गर्ने भनेकै प्राथमिक उपचार हो । जस्तो कि, शरीरमा आगो लागेमा आत्तिएर दौडिने होइन, बरु भुइँमा लडिबुडी गरेमा आगो निभ्न सक्छ । यति गर्दा पनि आगो ननिभेमा बाक्लो कम्बल वा कपडाले छोपेर निभाउनु पर्छ ।
आगो निभेपछि जलेको भागलाई सकेसम्म छिटो बगिरहेको चिसो पानीमा राख्नुपर्छ । यसो गर्नाले पानीले तातोपना सोसेर घाउलाई थप गहिरो हुन दिँदैन । रासायनिक जलनमा घण्टौँसम्म पनि बगिरहेको पानीमा राख्नुपर्ने हुन्छ । तर, पोलेको घाउमा बरफ भने राख्नु हुँदैन । गोलभेँडा, बेसार, घिउकुमारी, गोबर, दन्तमञ्जन, नौनी पनि प्रयोग गर्न मिल्दैन । पोलेको भाग चिस्याई सकेपछि घाउलाई सफा कपडा वा प्लास्टिकले छोपेर नजिकैको अस्पताल जानुपर्छ । यदि अस्पताल पुग्न केही घण्टा लाग्ने भए बाटोमा जीवनजल वा पानी खाँदै जानुपर्छ । उपलब्ध भएमा घाउमा सिल्भर सल्फाडायजिन वा नियोमाइसिन जस्ता मलम लगाउन सकिन्छ ।कस्तो जलन गम्भीर हुन्छ ?
वयस्कको हकमा २० प्रतिशत, बालबच्चा र वृद्धवृद्धामा १० प्रतिशत भन्दा बढी जलेमा त्यसलाई गम्भीर जलन रूपमा लिनुपर्छ । यो अवस्थामा पोलेको भागमा मात्र नभई शरीरका अन्य अङ्ग जस्तै फोक्सो, मुटु, आन्द्रामा असर पर्छ ।
गम्भीर जलन भएको व्यक्तिलाई तत्काल अनिवार्य अस्पतालमा भर्ना गर्नुपर्छ । किनकि जलन पीडितलाई सलाइन दिनुपर्छ । पिसाबको मात्र जाँच गर्नुपर्छ । त्यस्ता जलन पीडितलाई मुखबाट खुवाएको खानाले मात्र नपुग्ने हुँदा नाकबाट पाइप हालेर खानेकुरा खुवाउनुपर्ने हुन्छ ।
सामान्य जलन भएतापनि यी कुराहरू भएमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।
नाक, मुख, श्वासनली र फोक्सोमा जलन भएमा, हात वा जोर्नी, ज्ञानेन्द्रियमा पोलिएमा, करेन्ट लागेमा, रासायनिक जलन, मधुमेह, उच्च रक्तचाप, मुटुको रोग वा अन्य कुनै असाध्य रोग भएमा, आत्महत्या वा घरेलु हिंसाको शङ्का भएमा सामान्य जलन भएपनि भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।जलन सम्बन्धी घाउका स्याहार कसरी गर्ने ? जलन सम्बन्धी घाउका स्याहार लामो समयसम्म गर्नुपर्छ । हरेक दिन नुहाउने, निको भैसकेको छालामा तारनतार नरिवलको तेल लगाउने गर्नुपर्छ । जलनमा चिलाउने समस्या करिब ६ महिनासम्म रहन सक्छ र बिस्तारै कम हुँदै जान्छ । छाला सफा राख्नाले र चिल्लो लगाउँदा चिलाउने समस्या धेरै कम हुन्छ । उठेको दागहरूमा मालिस गर्न सकिन्छ । निको भैसकेको छाला कन्याउनाले अथवा रगड्नाले फोका उठ्न भएकाले त्यसो गर्नुहुँदैन । जलेको भागलाई छाला रातो रहुन्जेल घाममा देखाउन हुँदैन । नत्र छाला डढेर कालो हुन जान्छ । बादल लागेको बेलामा पनि छालालाई अल्ट्राभायोलेट किरणबाट बचाउनु पर्छ । जलनका बिरामीले ख्याल राख्नुपर्ने कुरा जलनका घाउ बाहिरबाट निको भएपनि यसको असर लामो समयसम्म रहन्छ । त्यसैले जलनको भाग सोझै घाममा नपरोस् भनेर लामो लुगा, क्याप लगाउने, छाता ओढ्ने र अत्यावश्यक नपरीकन घाममा नजाने गर्नुपर्छ । जोर्नी, नाक, मुख, आँखा, घाँटीमा जलन भएमा दाग खुम्चन सक्छ । यसो नहोस् भन्नका लागि व्यायाम गर्न सकिन्छ । गहिरो नभएको घाउको दाग बस्दैन । गहिरो घाउको दाग बस्छ । दाग मलम र औषधी सेवन हटाउन सकिँदैन । दाग हटाउन शल्यक्रिया गर्नुपर्छ । जलनका बिरामीले खानेकुरा बार्नुपर्दैन । माछा मासु, अण्डा जस्ता प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।कीर्तिपुर अस्पतालका जलन सम्बन्धी विशेषज्ञ डा.विशाल कार्कीसँग कुराकानीमा आधारित।
