Breaking
Wed. Dec 10th, 2025

पोखरा प्लेअफमा

काठमाडौं : पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसी लाई १–० गोलले पराजित गर्दै पोखरा एनएसएलको दोस्रो संस्करणमा प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा पोखरालाई प्लेअफमा पु¥याउन मोसेस ग्याबाह टुमले निर्णायक गोल गरेका थिए। मार्की खेलाडी आयुष घलानको पासलाई सदुपयोग गर्दै मोसेसले इन्जुरी समयमा गोल गरेका थिए। लिगको शीर्ष स्थानमा उक्लिएको पोखराले सात खेलमा १४ अंक जोडेको छ।

पोखराले सात खेलमा चार जित, दुई बराबर र एक हारको नतिजा निकालेको छ। पोखरासँगको हारसँगै बुटवलको प्लेअफ पुग्ने लक्ष्यमा धक्का लागेको छ। सात खेलमा सात अंक जोडेको बुटवल सातौं स्थानमा झरेको छ। पोखराले लिग चरणको अन्तिम खेलमा शुक्रबार धनगढी एफसीको सामना गर्नेछ। यसैगरी बुटवलले शनिबार प्लेअफको दौडबाट बाहिरिसकेको वीरगन्ज युनाइटेडसँग खेल्नेछ।

मंगलबार नै भएको अर्को खेलमा ललितपुर सिटी एफसीले पहिलो हार बेहोरेको छ। दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ इलामले ललितपुरलाई १–० गोलले पराजित गरेको हो। फोडे कमाराले ५९औं मिनेटमा गोल गर्दै इलामलाई जित दिलाएका थिए। नव प्रवेशी इलामले लिग चरणको अन्तिम खेलमा जित निकाल्दै पाँचौं स्थानमा उक्लिएको छ। इलामले आठ खेलमा दुई जित, दुई बराबरी र चार हारको नतिजासहित आठ अंक जोडेको छ।

लिगको तेस्रो स्थानमा रहेको ललितपुरले भने पहिलो हार बेहोरेको हो। सात खेलमा दुई, चार बराबर र एक हारको नतिजा निकालेको ललितपुरले १० अंक जोडेको छ। शीर्ष स्थानको पोखराको १४ र दोस्रो स्थानको धनगढी एफसी एफसीको १२ अंक छ। यसैगरी चौथो स्थानको साविक विजेता काठमाडौंको नौ अंक छ। धनगढी र काठमाडौंले ललितपुरभन्दा एक खेल कम खेलेका छन्। ललितपुरले लिगको अन्तिम खेलमा शनिबार साविक विजेता काठमाडौं रेजर्सको सामना गर्नेछ।

एनएसएलअन्तर्गत बुधबार झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ। एनएसएलको दोस्रो संस्करणमा ललितपुर सिटी एफसी, वीरगन्ज युनाइटेड, बुटवल लुम्बिनी, धनगढी, चितवन, झापा, पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसीले स्पर्धा गरिरहेका छन्। पुस १४ गतेसम्म सञ्चालन हुने लिगको उपाधि विजेतालाई ७० लाखदेखि एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *