सुनकोशी समाचार
सिन्धुपाल्चोक । सुनकोशीका एक सञ्चारकर्मीको चरित्र हत्या गरिएको भन्दै निशान परियारले इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएका छन्।
वास्तविक घटनामा आधारित समाचार प्रकाशन तथा प्रसारण गर्दा पनि सञ्चारकर्मीलाई लक्षित गरी विभिन्न प्रकारका नकारात्मक टिप्पणी गर्ने, फोनमार्फत अपमानजनक शब्द प्रयोग गर्ने तथा मानसिक तनाव दिने गतिविधि भएको भन्दै उजुरी दिइएको बताइएको छ।
समाचारको विषयलाई लिएर असहमति भए कानुनी तथा तथ्यगत आधारमा आफ्नो धारणा राख्न सकिने भए पनि सञ्चारकर्मीको व्यक्तिगत प्रतिष्ठामाथि आँच पुग्ने गरी टिप्पणी गर्नु र फोनमार्फत दुर्व्यवहार गर्नु उचित नहुने सरोकारवालाहरूको धारणा छ।
पत्रकारिता समाजलाई सुसूचित गराउने महत्त्वपूर्ण माध्यम हो। समाचारमा कुनै त्रुटि भए तथ्य र प्रमाणका आधारमा खण्डन गर्ने, सम्बन्धित निकायमा उजुरी दिने तथा कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै व्यक्तिगत रूपमा अपमानित गर्ने र चरित्रमाथि प्रश्न उठाउने प्रवृत्ति निरुत्साहित हुन आवश्यक छ।
यस घटनामा उजुरीमा उल्लेख गरिएका विषयको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
