Breaking
Tue. Oct 21st, 2025

सरकारी संरचना जल्दा खुसी मान्ने कर्मचारीलाई राजीनामा दिनू – अध्यक्ष स्याङ्बोको कडा चेतावनी

सुनकोशी समाचार

सिन्धुपाल्चोक, १४ भदौ —
जेन-जी आन्दोलनको पृष्ठभूमिमा सरकारी संरचनाहरूमा आगजनी भएपछि त्यसप्रति सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका कर्मचारीहरूलाई जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले तीव्र चेतावनी दिएका छन्। उनले यस्तो व्यवहार देखाउने कर्मचारीहरूलाई “भष्मासुर” संज्ञा दिँदै तत्काल कार्यालयमा हाजिर नहुन निर्देशन दिएका छन्।

जुगल गाउँपालिकाका अध्यक्ष स्याङ्बोले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा ती कर्मचारीहरूलाई लक्षित गर्दै भनेका छन्,

“जेन-जी आन्दोलन भ्रस्टाचार र बेथितिविरुद्ध थियो। यसको पक्षमा उभिनु स्वाभाविक हो। तर सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन जस्ता संवैधानिक संरचना जल्दा खुशी मान्ने, त्यसलाई समर्थन गर्ने, र अब गाउँपालिकाको पालो भन्दै कमेन्ट गर्ने कर्मचारीहरू सरकारी सेवामा बस्न लायक छैनन्।”

स्याङ्बोले यस्ता कर्मचारीहरूलाई भोलिदेखि हाजिर नहुन र आत्मसमीक्षा गर्दै राजीनामा दिन आग्रह गरेका छन्।
उनको भनाइमा,

“देशको ठूलो धनराशीले निर्माण गरिएका संरचना जल्दा रमाउने कर्मचारीलाई हामी राख्न सक्दैनौं। तपाईंहरू सबैको पोस्ट र कमेन्टको स्क्रिनसट हामीसँग सुरक्षित छ।”

गाउँपालिकाभित्रका केही कर्मचारी र शिक्षकहरू सामाजिक सञ्जालमा देशभर भएका हिंसात्मक घटनामा अप्रत्यक्ष रूपमा समर्थनजन्य अभिव्यक्ति दिँदै खुशी व्यक्त गरेको पाइएको अध्यक्ष स्याङ्बोको दाबी छ।
उनले उल्लेख गरेका छन् कि यस्ता क्रियाकलाप कर्मचारी आचरण तथा सेवा निर्देशिकाविपरीत छन् र सरकारी पदको गरिमा विपरीत हो।

अध्यक्ष स्याङ्बोको सार्वजनिक चेतावनीले प्रशासनिक प्रक्रिया र कानुनी आयामबारे प्रश्न उठेका छन्। स्थानीय सरकार प्रमुखको हैसियतमा उनले दिएका निर्देशन कार्यान्वयन योग्य छ कि छैन भन्ने विषयमा अझै प्रस्टता आएको छैन। यद्यपि, कर्मचारी सेवा आचारसंहिता अनुसार संवेदनशील राष्ट्रिय घटनाप्रति गैरजिम्मेवार अभिव्यक्ति दिएका व्यक्तिहरूमाथि अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढ्न सक्छ।

स्याङ्बोको यो अभिव्यक्ति सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल भएको छ। कतिपयले अध्यक्षको राष्ट्रप्रतिको भावनालाई समर्थन गरेका छन् भने केहीले यसलाई अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भन्दै आलोचना गरेका छन्।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *