सुनकोशी समाचार
कुमार बस्नेत(अधिराज)
सिन्धुपाल्चोक, जेष्ठ १४ – युर्टन इन्टरनेशनल प्रा.लि.को आयोजनामा सुनकोशी गाउँपालिका–४ यमुनाडाँडास्थित स्वास्थ्य चौकीको हलमा “स्वस्थ जीवनशैली र आर्थिक समृद्धि” विषयक जनचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडाका स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रह्यो।
कार्यक्रम युर्टन इन्टरनेशनल प्रा.लि.का (Five sitar) देवेन्द्र प्रसाद सुवेदीको अध्यक्षता तथा वडा अध्यक्ष भोजलाल श्रेष्ठ काम विशेषले अनुपस्थित रहेकाले कार्यवाहक वडा अध्यक्ष राजु खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
उक्त अवसरमा युर्टन इन्टरनेशनलका तर्फबाट राष्ट्रिय प्रशिक्षक पुष्पराज सापकोटाले आयुर्वेदिक उपाय, दैनिक व्यायाम र स्थानीय कृषि स्रोतसाधनको प्रयोगमार्फत कसरी स्वस्थ र निरोगी जीवनयापन गर्न सकिन्छ भन्नेबारे विस्तृत जानकारी दिनुभयो। उहाँले स्वास्थ्य सचेतनासम्बन्धी भिडियोहरू प्रस्तुत गर्दै नेपाली उत्पादनको प्रयोगप्रति जोड दिनुभयो।
कम्पनीका तर्फबाट सुवेदीले युर्टन इन्टरनेशनलको उद्देश्य, गतिविधि र स्वास्थ्यमा केन्द्रित दृष्टिकोणबारे जानकारी गराउँदै कम्पनीले जनस्वास्थ्यका क्षेत्रमा पुर्याउन चाहेको योगदानबारे प्रकाश पार्नुभयो।
कार्यक्रममा बागमती प्रदेश सरकार अन्तर्गत कृषि तथा पशुपंक्षी मन्त्रालयको कृषि उपसमितिका संयोजक डोल्मा स्याङ्वोले स्थानीय तहमा अर्गानिक खेतीलाई प्रवर्द्धन गर्दै कृषि उत्पादनका माध्यमबाट आत्मनिर्भर बन्न सकिने बताउँदै प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।
स्वास्थ्य र समृद्धिको यात्रामा समुदायको सहभागिता अपरिहार्य रहेको सन्देश बोकेको यो कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
