सुनकोशी समाचार
कुमार बस्नेत (अधिराज )
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि तयार पारेको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको हो ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेशका विभिन्न मन्त्रालयहरूले तयार पारेको प्रारम्भिक नीति कार्यक्रमलाई सरोकारवाला निकायहरूसँगको छलफलपछि अन्तिम रूप दिइएको हो।
उनले मन्त्रालयहरूले बजेटमै समेटिने गरी प्रभावकारी ढंगले नीति कार्यक्रम तयार गरेको जानकारी दिए। स्वीकृत नीति कार्यक्रम आगामी जेठ १४ गते प्रदेश सभा बैठकमार्फत सार्वजनिक गरिनेछ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा उक्त दिन १ बजे हुने बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका छ ।
यसका लागि प्रदेश सभा सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुखलाई औपचारिक पत्राचार गरिसकेका छन्।
सभामुख पाठकले सभासदहरूलाई सो दिन औपचारिक पोसाकमा बैठकमा सहभागी हुन निर्देशनसमेत दिएका छन्।
