Breaking
Tue. Feb 10th, 2026

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सिन्धुपाल्चोक शाखाको नवौँ वार्षिक साधारण सभा सम्पन्न

सुनकोशी समाचार
बलेफि । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सिन्धुपाल्चोक शाखाको नवौँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन पौष १२ गते शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
सिन्धुपाल्चोक जिल्लाका अध्यक्ष बखत बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघीय लेखा समितिका सदस्य कुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा जिल्लाभरका स्टेशनरी व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुमार थापाले पुस्तक तथा स्टेशनरी व्यवसाय शैक्षिक विकाससँग प्रत्यक्ष जोडिएको संवेदनशील व्यवसाय भएको उल्लेख गर्नुभयो। उहाँले व्यवसायीहरूको हकहित संरक्षण, पारदर्शी आर्थिक प्रणाली र संगठन सुदृढीकरणमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै आगामी दिनमा नीति निर्माण तहमा समेत व्यवसायीका आवाज बुलन्द गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रमका सभापति तथा सिन्धुपाल्चोक शाखाका अध्यक्ष बखत बहादुर अधिकारीले स्टेशनरी व्यवसायीहरूले भोग्दै आएका समस्या, कर प्रणाली, आयात–निर्यात तथा बजार व्यवस्थापनका विषयमा महासंघले निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो। उहाँले नयाँ कार्यसमितिले व्यवसायीहरूलाई एकताबद्ध गर्दै व्यावसायिक मर्यादा कायम राख्न र संगठनलाई अझ सशक्त बनाउने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। चयनित कार्यसमितिअनुसार
अध्यक्ष बखत बहादुर अधिकारी,उपाध्यक्ष जय बहादुर श्रेष्ठ,सचिव रामशरण बस्नेत,कोषाध्यक्ष दीपक तिमल्सिना लगायतको ७ जना कार्यसमिति गठन गरिएको जिल्ला महासंघले जनाएको छ। यसअघिको कार्यसमितिका अधिकांश पदाधिकारी पुनः चयन भए पनि कोषाध्यक्ष पदमा दीपक तिमल्सिना नयाँ अनुहारका रूपमा चयन भएका छन्।
कार्यक्रम बलेफी गाउँपालिका–७, अमलटारमा सम्पन्न भएको हो। अधिवेशनले संगठन मजबुत बनाउने, व्यवसायीबीच सहकार्य बढाउने तथा शैक्षिक सामग्रीको सहज पहुँच सुनिश्चित गर्ने विषयमा समेत छलफल गरेको आयोजकले जनाएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *